विराटनगर ।
मोरङको बुढीगंगा गाउँपालिकामा अवस्थित डा. ज्ञानेन्द्रमानसिंह कार्कीद्वारा सञ्चालित विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलमा लाखौँ रकम हिनामिना भएको पाइएको छ ।
मोरङ प्रहरीले फर्जी कर्मचारी देखाएर लाखौँ रुपैयाँ हिनामिना गरेको आरोपमा विराट मेडिकल कलेजका प्रशासकीय अधिकृत सुधिरसिंह राठौर र कम्प्युटर शाखामा कार्यरत राजनारायण चौधरी गत मंगलबार पक्राउ परेका छन् । राठौर करिब चार वर्षअघिदेखि विराट मेडिकल कलेजमा कार्यरत थिए । उनले अस्पतालमा जागिर खान आवेदन दिएका पाँच जना व्यक्तिहरूको नागरिता प्रयोग गरी लाखौँ रुपैयाँ हिनामिना गरेको उजुरी परेपछि प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीस्रोतका अनुसार राठौरले गत भदौदेखि अञ्जली झाँगड ऋषिदेव, रमिता भगत, राजवती झाँगड ऋषिदेव, रीताकुमारी थापा मगर र सुनिता ऋषिदेवलाई जागिरमा लगाएको नक्कली विवरण बनाएर पैसा हिनामिना गरेका थिए ।
राठौरले नक्कली कर्मचारी खडा गरी मेडिकल कलेजको पैसा अपचलन गरेको बारेमा सञ्चालक ज्ञोनेन्द्रमानसिंह कार्कीले नै प्रहरीमा उजुरी गरेका थिए । राठौर मेडिकल कलेजका सञ्चालक डा. ज्ञानेन्द्रमानसिंह कार्कीका अत्यन्तै विस्वासिला कर्मचारी थिए । डा. कार्कीले पनि सोही विश्वासका कारण उनलाई प्रशासकीय अधिकृतको जिम्मेवारी दिएका थिए । तर पछिल्लो समय डा. कार्की र राठौरका बीचमा केही मेडिकल कलेजको विषयमा व्यापक मतभेद हुँदै गएको थियो ।
मेडिकल कलेज सम्बन्धन प्राप्त गर्दादेखि विवादित बन्नपुगेको उक्त कलेज कहिले विद्यार्थीसँग बढी शुल्क असुलीका कारण त कहिले बिरामी उपचार नगरेको विषयमा पटक–पटक विवादमा आउने गरेको थियो । पछिल्लो समय लाखौँ रुपैयाँ हिनामिना गरेको आरोपमा त्यहाँ कार्यरत प्रशासकीय अधिकृतसहित दुई जना कर्मचारी पक्राउ परेपछि अहिले फेरि कलेज विवादित बन्न पुगेको हो ।