काठमाडौँ ।
बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना संस्थागत ग्राहकहरूका लागि बैंक खाताबाटै विद्युतीय कारोबार गर्न सक्ने कर्पोरेट–पे प्रणालीको सुरुवात गरेको छ । उक्त सेवा बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडसँगको सहकार्यमा उपलब्ध गराएको हो । उक्त सम्झौतामा बैंकका प्रमुख सूचना अधिकारी महेश मिश्र तथा नेपाल क्लियरिङ हाउसका प्रमुख सञ्चालन अधिकृत मुन्नी राजभण्डारीले हस्ताक्षर गरेका छन् ।
बैंकको आफ्ना संस्थागत ग्राहकहरूलाई डिजिटल माध्यमबाट रकम स्थानान्तरण, तलब व्यवस्थापन, सरकारी राजस्व भुक्तानीलगायत अन्य विभिन्न व्यावसायिक भुक्तानीहरू आफ्नो बैंकमा रहेको बैंक खाताबाट सजिलै गर्न सकिनेछ । उक्त प्रणालीमार्फत कनेक्ट आईपीएस र वा एनसीएचएल आईपीएस भुक्तानी कारोबारहरू गर्न सकिने सुविधा रहेको छ । यो प्रणाली सूचारु गरेपश्चात् बैंकको संस्थागत ग्राहकहरूले तोकिएको कारोबार सीमाभित्र सबै आवश्यक भुक्तानीहरू गर्न सक्नेछन् ।
संस्थागत ग्राहकहरूले यस सेवा सूचारुको लागि आवश्यक प्रक्रिया पूरा गरी बैंकमा आवेदन दिनुपर्नेछ । साथै, ग्राहकहरूले आफ्ना आवश्यकताबमोजिम यो प्रणालीमा एकभन्दा बढी बैंक खाताहरू समेत आबद्ध गरी कारोबार गर्न सकिने सुविधा रहेको छ । यो प्रणालीको प्रयोगले बैंकको शाखा कार्यालयहरूमा नपुगी विभिन्न बैकिङ कारोबारहरू चेकको प्रयोग नगरी अनलाइनको माध्यमबाट नै गर्न सकिने हुँदा संस्थागत ग्राहकहरूलाई सजिलो हुने विश्वास बैंकले लिएको छ ।
यो प्रणालीको सुरक्षित प्रयोग गर्न मल्टी लेयर अथेन्टीकेसनको व्यवस्था गरी कुनै कारोबार प्रविष्ट गर्न र स्वीकृत गर्न ग्राहकहरू आफैँले निर्धारण गरेको आधिकारिक प्रयोगकर्ताहरूले मात्र पाउने सुरक्षित तथा सजिलोे व्यवस्था गरिएको छ । बैंकले ९० शाखा कार्यालयहरू, ७८ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।