काठमाडौँ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच कर्पोरेट–पे प्रणालीको कार्यान्वयनका लागि सम्झौता भएको छ । यो प्रणालीअन्तर्गत बैंकका संस्थागत ग्राहकहरूले बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सक्नेछन् । बैंकले आफ्ना व्यावसायिक ग्राहकहरूलाई प्रदान गर्ने उक्त डिजिटल प्ल्याट्फर्ममार्फत बैंकमा नगई आफैँले फण्ड ट्रान्स्फर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, सरकारी राजस्व भुक्तानीलगायतका अन्य विभिन्न व्यावसायिक भुक्तानीहरू खाताबाटै सजिलै गर्न सक्नेछन् । उक्त प्रणालीमार्फत कनेक्ट आईपीएस तथा आईपीएसमा भुक्तानी कारोबारहरू गर्न सक्ने बैंकले जनाएको छ ।
कर्पोरेट–पेमा आबद्ध हुनका लागि ग्राहकले बैंकमा सम्पर्क गर्नुपर्ने हुन्छ र साधारण आवेदनको स्वीकृतिलगायतका आवश्यक प्रक्रिया पूरा गरी बैंकबाट सो सेवा प्राप्त गर्न सकिनेछ । यसपश्चात् भने ग्राहकका प्रयोगकर्ताहरू आफैंले तोकिएको सीमा कारोबारभित्र कुनै पनि भुक्तानीहरू बैंकमा उपस्थित नभई नै गर्न सक्दछन्, भने सो सीमाभन्दा बढीको कारोबार गर्न भने बैंकले थप चेक जाँचपश्चातप् प्रक्रिया अगाडि बढाउने व्यवस्था रहेको छ ।
यस प्रणालीमा पहुँच पाउन मल्टी लेयर अथेन्टिकेसनकोे सुरक्षित व्यवस्था गरिएको छ भने, कुनै पनि कारोबार प्रविष्ट गर्न र स्वीकृत गर्न ग्राहक आफैँले निर्धारण गरेको आधिकारिक प्रयोगकर्ताहरूले मात्र गर्न पाउने गरी यो प्रणालीमा सुरक्षाको व्यवस्था मिलाइएको छ । साथै ग्राहकले आवश्यकताअनुरूप यो प्रणालीमा एकभन्दा बढी बैंक खाताहरू पनि लिंक गरी कारोबार गर्न सकिने प्रावधान रहेको छ ।
बैंकले देशैभरि फैलिएका आफ्ना एक सय नौवटा शाखा, ९८ वटा एटीएम र एक सय सातवटा शाखारहित बैंकिङ इकाइहरूबाट करिब सात लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ । बैंकले नवीनतम प्रविधिको अधिकतम प्रयोग गर्दै आफ्ना ग्राहकहरूको वित्तीय आवश्यकताहरू डिजिटली च्यानलको माध्यमबाट प्रदान गरिरहेको छ ।
यसलाई मूर्तरूप प्रदान गर्न बैंकले चेकको प्रयोग नगरी मोबाइल बैंकिङ एपमा लगइन गरेर काउन्टरमा भएको क्यूआर कोड स्क्यान गरी खाताबाट रकम झिक्न स्क्यान एण्ड विथ ड्र सेवा, मोबाइल बैंकिङको पिन नं बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झट नगरी घरबाटै पिन रिसेट गर्न सकिनेजस्ता सेवाहरूको थालनी गरेको छ ।
यसप्रकारको सेवाबाट डिजिटल बैंकिङ सभ्यताको विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ । व्यावसायिक ज्ञानको कमी, वित्तीय बजारको यथार्थ जानकारी नहुनु, नीति, नियम र प्रणालीसँग परिचित नहुनु तथा व्यावसायिक तालिम र अभिमुखीकरणको अपर्याप्तता, उचित परामर्शको अभाव, वित्तीय साक्षरता र पहुँचको कमीले लगानीयोग्य पुँजी सदुपयोग हुननसकेको परिस्थितिलाई न्यूनीकरण गर्न यस बैंकले वित्तीय साक्षरताका कार्यक्रमहरूका साथसाथै सुलभ र सहज तवरले सहुलियतपूर्ण कर्जा प्रवाह गर्दै आएको छ ।