वासिङ्टन, पुस २१
जर्मन अटोनिर्माता डायम्लर एजीले अमेरिकाबाट साढे सात लाख मर्सिडिज बेन्ज कारहरु फिर्ता लिने भएको छ । शनिबार विज्ञप्ति जारी गर्दै कम्पनीले सन् २००१ देखि २०११ सम्मको अवधिमा निर्माण भएका ती कारहरुमा छानोमा समस्या भेटिएको भन्दै अमेरिकाबाट ७ लाख ४४ हजार कारहरु फिर्ता लिने जनाएको हो । ठूलो परिमाणमा फिर्ता हुनलागेका कारहरुमा सी क्लास, सीएलके क्लास, सीएलएस क्लास र ई क्लास मोडल लाइनका कारहरु छन् ।
छानो उप्किने समस्या देखिएपछि उक्त कारहरु फिर्ता गरिनलागेको हो । मर्मतका लागि खर्च गरेका कारधनीले समेत कम्पनीबाट उक्त रकम फिर्ता पाउने बताइएको छ । यद्यपि मर्सिडिज बेन्ज अमेरिकाका प्रवक्ताले अमेरिकाबाट उक्त कार फिर्ता हुने बताए । गत महिनामात्रै कम्पनीले २ करोड डलर क्षतिपूर्तिको लागि सहमति जनाएको थियो । १४ लाख कार फिर्ता भएकोबारे अमेरिकी अधिकारीहरुले एक वर्ष लामो अनुसन्धान गरेका थिए । सो प्रकरणमा सहमति नभए कम्पनीले २ करोड डलर तिर्नुपर्ने बताइएको छ ।