बेइजिङ ।
चीनले कोरोना महामारीले विश्व आक्रान्त पारेको सन् २०२० मा दुई खर्ब २० अर्बभन्दा धेरै मास्क निर्यात गरेको छ । एएफपीका अनुसार शुक्रबार चीनको वाणिज्य मन्त्रालयले उक्त जानकारी दिँदै त्यसमध्ये झण्डै ४० प्रतिशत मास्क विदेश निर्यात गरेको बताएको हो ।
कोरोनाबाट बच्न विश्वभर मास्कको माग उच्च दरले बढेको थियो । सन् २०१९ को डिसेम्बरमा वुहानमा पहिलोपटक कोरोना भाइरस सुरु भएको थियो । त्योसँगै यातायात, यात्रालगायत सबै ठप्प पार्दा शून्य आर्थिक क्रियाकलापले अर्थतन्त्रलाई समेत धक्का पुगेको थियो । तर मास्क बेचेरै चीनले अर्बौँ अमेरिकी डलर आम्दानी गर्दा अर्थतन्त्रलाई केही राहत भएको छ ।
उपवाणिज्यमन्त्री क्वियान केमिङले चीनले दुई अर्ब ३० करोड वटा मास्क र एक अर्ब परीक्षण किट निर्यात गरेको जानकारी दिए । यसले कोरोनाविरुद्ध लड्न विश्वलाई महत्वपूर्ण योगदान गरेको उनले बताए । ५२ अर्ब ६० करोड डलरबराबरको मास्कको मात्रै शिपमेन्ट भएको भन्सारका प्रवक्ता लि क्विवेनले यही महिनाको सुरुतिर बताएका थिए ।
यो परिमाण भनेको चीनबाहिर एक व्यक्तिलाई ४० मास्क दिएसरह भएको बताइएको छ । कडा लकडाउन र सुरक्षाका उपाय कार्यान्वयनमा सफल भएको चीन सन् २०२० मा सकारात्मक आर्थिक वृद्धि हासिल गर्ने विश्वकै मुख्य अर्थतन्त्र भएको थियो । तर सोही दिन वाणिज्य मन्त्रालयका अधिकारी चु सिजियाले भने चीनले वैदेशिक व्यापार र लगानीमा अझै चुनौतीको सामना गर्नुपरिरहेको बताए ।