काठमाडौं, पुस २२
नेपाल राष्ट्र बैंकले उत्पादनशील गतिविधि तथा निर्यातलाई प्रोत्साहित गर्ने उद्देश्यले सहुलियतदरमा प्रदान गरिँदै आएको पुनर्कर्जा २०७६ कात्तिक मसान्तमा १३ अर्ब ९० करोड रुपैयाँ पुुगेको जानकारी दिएको छ । यसअन्तर्गत साधारण पुनर्कर्जा ११ अर्ब ३५ करोड र निर्यात पुनर्कर्जा ६८ करोड २५ लाख रुपैयाँ उपयोग भएको राष्ट्र बैंकले जनाएको छ ।
भूकम्पपीडितलाई आवासीय घर निर्माणको लागि सहुलियतपूर्ण कर्जा प्रदान गर्न राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराइएको पुनर्कर्जाको बक्यौता २०७६ कात्तिक मसान्तमा एक अर्ब ९१ करोड रहेको छ । यस्तो कर्जा एक हजार पाँच सय ७८ जना ऋणीले उपयोग गरेका छन् । यसैगरी राष्ट्र बैंकले कात्तिक मसान्तसम्ममा कृषि तथा पशुपक्षी व्यवसाय कर्जाअन्तर्गत १८ हजार सात सय ४३ जना ऋणीको ३९ अर्ब ८० करोड कर्जा बक्यौता रहेको छ । त्यसैगरी, सहुलियतपूर्ण कर्जाका अन्य शीर्षकअन्तर्गत दुुई हजार एक सय २६ जना ऋणीको एक अर्ब २६ करोड कर्जा बक्यौता रहेको छ ।
यसैगरी राष्ट्र बैंकले बैंक तथा फाइनान्स कम्पनीहरुले चालू आवको पछिल्लो चार महिनामा झण्डै सात खर्ब ५० अर्ब रुपैयाँबराबरको अन्तरबैंक कारोबार गरेको जानकारी दिएको छ । राष्ट्र बैंकका अनुसार सो अवधिमा वाणिज्य बैंकहरुले छ खर्ब ९७ अर्ब दुुई करोड र विकास बैंक र फाइनान्स कम्पनीहरुले ५८ अर्ब २३ करोड रुपैयाँबराबरको अन्तरबैंक कारोबार गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुले चार खर्ब २१ अर्ब ९१ करोड र विकास बैंक तथा फाइनान्स कम्पनीहरुले ४८ अर्ब ६९ करोड रुपैयाँबराबरको अन्तरबैंक कारोबार गरेका थिए ।
राष्ट्र बैंकका अनुुसार २०७५ कात्तिकमा ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर दुुई दशमलव २० प्रतिशत रहेकोमा २०७६ कात्तिकमा तीन दशमलव ८३ प्रतिशत कायम भएको छ । वाणिज्य बैंकहरुबीचको अन्तरबैंक कारोबारको भारित औसत ब्याजदर २०७५ को एक दशमलव ६८ प्रतिशतको तुलनामा २०७६ कात्तिकमा दुुई दशमलव ५९ प्रतिशत कायम भएको छ ।
वाणिज्य बैंकहरुको औसत आधार दर २०७५ कात्तिकको १० दशमलव २१ प्रतिशतको तुलनामा २०७६ कात्तिकमा नौ दशमलव ५० प्रतिशत कायम भएको छ । २०७६ कात्तिकमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर छ दशमलव ८१ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर १२ दशमलव सात प्रतिशत रहेको छ । राष्ट्र बैंकका अनुुसार अघिल्लो वर्षको सोही अवधिमा यी दरहरु क्रमशः छ दशमलव ६१ प्रतिशत र १२ दशमलव २६ प्रतिशत रहेका थिए ।