काठमाडौं ।
सिद्धार्थ बैंक लिमिटेडले डिजिटल प्रविधिको सदुपयोग गर्दै ग्राहकहरूलाई छिटो तथा सहज सुविधा उपलब्ध गराउने उद्देश्यले अनलाइनमार्फत डेबिट कार्ड आवेदन दिनसकिने व्यवस्था सञ्चालनमा ल्याएको छ । अब यो नयाँ व्यवस्थापछि डेबिट कार्ड लिनुपरेमा, नवीकरण गर्नुपरेमा वा हराएको, बिग्रिएको कार्डको सट्टामा नयाँ बनाउन परेमा ग्राहकहरूले भौतिकरूपमा बैंकसम्म उपस्थित नभई घरैबाट डेबिट कार्डका लागि आवेदन दिन सक्नेछन् । यसका लागि ग्राहकहरूले बैंकको वेबसाइटमा गई आवश्यक विवरण भरी सहजरूपमा अनलाइनमार्फत आवेदन दिन सक्नेछन् ।
कार्ड तयार भइसकेपछि बैंकले ग्राहकहरूलाई कार्ड संकलन गर्न एसएमएसमार्फत अनुरोध गर्नेछ । ग्राहकहरूले आवेदन दिँदा कार्ड संकलन गर्न छनोट गरिएको शाखाबाट डेबिट कार्ड संकलन गर्न सक्नेछन् । बैंकले ल्याएको यस अनलाइन सुविधामार्फत डेबिट कार्ड आवेदन दिन सकिने व्यवस्थाले ग्राहकहरू बैंकमा पुगेर लामो समयसम्म लाइनमा बस्नु नपर्ने र समयको बचत हुनुका साथै ग्राहकहरूलाई थप सुविधा पुग्ने विश्वास बैंकले लिएको छ । यो व्यवस्थाले बैंकिङ प्रणाली अझ बढी प्रभावकारी र ग्राहकमैत्री बन्नेछ ।