विराटनगर ।
एनआईसी एसिया बैंकको करिब छ करोड ५० लाख रुपैयाँ जग्गा धितो राखी ऋण खाएर फरार भएका व्यवसायी रोहित पारख करिब एक महिना १५ दिनपछि सुटुक्क विराटनगर आएर फेरि भाग्न सफल भएका छन् । उनी मिटरब्याजको पैसाले जुवा, फाट्का र क्यासिनो लतमा लागेका थिए । उनले सयौँलाई मिटरब्याजको पैसा तिर्नुपर्ने भएपछि बैंक र केही व्यापारी डुबाएर फरार भएका थिए ।
रोहितले दुईवटा बैंक र एउटा व्यापारिक फर्मलाई डुबाएर भारत पसेका थिए । रोहित एण्ड सन्स फर्मको नामबाट तोरिको पिना कोलकाता निर्यात गर्दै आएका उनले एक वर्ष नबित्दै आफ्नो जायजेथा डुबाएका हुन् । त्यसबाहेक उनले एनआईसी एसियाको साढे छ करोड र स्थानीय उद्योगी श्रवण अग्रवालको आठ करोड रूपैयाँ डुबाएर रातारात भारत पलायन भएका थिए । तर तिनै पारख कसैलाई सुइँको समेत नदिई पश्चिम बंगालको काकरभिट्टा नाका हुँदै विराटनगर आएर बैंकको ऋणमुक्त भएर पुनः भारततर्फ नै पलायन भएका छन् ।
पारख दुई दिनसम्म विराटनगरमै एक व्यवसायीको घरमा बसको थिए । विराटनगरबाट ट्रेडिङ कारोबारमा पोख्त मानिएका व्यवसायी खेमचन्द जैनसँगको सामिप्यताका कारण उनकै पहलमा फरार भएका रोहित विराटनगर आएका थिए । रोहित विराटनगर आएपछि एनआईसी एसिया बैंकमा रोक्का रहेको जग्गा फुकुवादेखि उक्त जग्गा पास गराउनेसम्मको काम ट्रेडिङ कारोबारी जैनले नै गराएका थिए । त्यसबाहेक जैनसँग निकट रहेका केही व्यवसायीबाट पारखले लिएको केही कर्जाको हिसाब जैनले नै गरिदिएका थिए ।
बैंकमा रोक्का रहेको जग्गा फुकुवा गरी उनले उक्त जग्गा समेत बिक्री गरेका छन् । तर जग्गा पास गरिदिन लागि उनी मालपोत कार्यालय नगई बैंकमै मालपोतको डोर बोलाएर जग्गाको खरिदबिक्री गरेका थिए । बैंकद्वारा जग्गा फुकुवाका सम्बन्धमा वास्तविकता के हो भनी बुझ्दा ऋणी पारखले बैंकको खातामा पैसा जम्मा गरेपछि जग्गा फुकुवा गरेको एनआईसी एसिया बैंक स्रोतले बताएको छ ।
जग्गा फुकुवापश्चात् पनि मालपोत कार्यालयमा कर्मचारी र व्यवसायीबीचमा ठूलै लेनदेनपश्चात् मात्र अर्कै व्यक्तिको नाममा जग्गा पास भएको स्रोतको भनाइ छ । फरार पारखको घर भाडामा लिएर शिवभगवती ट्रेडर्सको फर्म सञ्चालनमा ल्याइएको थियो । उद्योगका उत्पादनसहित झण्डै आठ करोड रुपैयाँ आसपासको मालसामान त्यही घरको गोदाम राखिएको थियो । पारखले उक्त गोदाममा राखिएकोे सामग्री एनआईसी बैंकलाई देखाएर करोडौँ कर्जा निकालेर गत मंसिरमा नै सम्पर्कविहीन भएका थिए ।
पछिल्लो समय शिवभगती ट्रेडर्समा एनआईसी एसिया र एनसीसी बैंकले तीनवटा ताला पुसको पहिलो हप्तादेखि लागाएपछि पारख फरार भएका हुन् । पारखले एनआईसी बैंकबाट छ करोड ५० लाख कर्जा निकालेर फरार भएपछि शिवभगतीले उक्त गोदाममा आफूले राखेको सामान देखाएर पारखले एनसीसी बैंकबाट कर्जा लिएको पत्तो पाएको थियो । पारख फरार भएको थाहा पाए लगत्तै एनआईसी बैंकले उक्त गोदाममा ताला लगाएको थियो ।