काठमाडौं ।
विदेशी कामदार भित्र्याउने विषयमा दक्षिण कोरियाली सरकारले आन्तरिक छलफल थालेको छ । कामदारको माग भए पनि स्वास्थ्य समस्या अर्थात् कोरोना महामारीको कारण विदेशी कामदार भित्र्याउने वा नभित्र्याउने विषयमा सहमति हुन नसक्दा विदेशी कामदारहरू कोरिया प्रवेश गर्न पाएका छैनन् ।
विदेशी कामदारहरू कोरिया जानको लागि आतुर छन् भने कोरियामा समेत कामदारको माग उच्च छ । यसले कोरियाली सरकारलाई विदेशी कामदार भित्र्याउनुपर्ने दबाब छ । कामदार भित्र्याउने विषयमा रोजगार तथा श्रम मन्त्रालयअन्तर्गत रहेको मानव संशोधन विकास सेवा (एचआरडी)ले स्वास्थ्य मन्त्रालयसँग छलफल गरेको छ ।
विश्वका अन्य मुलुकमा जस्तै कोरियामा पनि कोरोना संक्रमण पूर्ण नियन्त्रणमा नआएको कारण विदेशी कामदार भित्र्याउने विषयमा स्वास्थ्य मन्त्रालय (रोग नियन्त्रण महाशाखा)ले ठोस निर्णय लिन नसकेको अवस्था छ । यसैबीच कोरियाका उद्योगी व्यवसायीले भने उद्योगको लागि कामदारको माग गरेको छ भने स्वास्थ्य मन्त्रालयकै कारण कहिलेबाट भित्र्याउने भन्ने विषय अन्योल छ । कोरियाले विदेशी कामदार भित्र्याउने क्रममा कोरोनाको जोखिम कम भएका मुलुकलाई प्राथमिकता दिने प्रबल सम्भावना छ भने रोजगारीको खुला भएको अवस्थामा भने विदेशी कामदारले कोरोना स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्ण अपनाउनुपर्नेछ ।
विदेशी कामदारको मागको विषयमा भने नेपाली पक्षलाई पनि जानकारी गराएको रोजगार अनुमति प्रणाली (ईपीएस) शाखा, ग्वार्कोले जानकारी दिएको छ । एचआरडीले विदेशी कामदार भित्र्याउने क्रममा नेपाललाई पनि प्राथमिकता दिएको छ । कोरियामा नेपालका साथै श्रीलंका, फिलिपिन्स, कम्बोडियालगायतका मुलुकबाट विदेशी कामदार भित्र्याउने गरेको छ । कोरोना महामारीका बीचमा पनि कम्बोडिया र श्रीलंकाबाट कामदार भित्र्याए पनि कोरियाले त्यसलाई पुनः रोकेको थियो भने जसको कारण भनेको कोरोनाको जोखिम रहेको छ ।
कोरोना संक्रमणको जोखिमलाई उच्च प्राथमिकतामा राख्दा नेपाली युवाहरू कोरिया जान नपाएको शाखाका निर्देशक इन्द्र गौतमले बताए । ‘हामीले एचआरडीसँग नेपाली युवाहरू लैजाने विषयमा दुई पक्षीय छलफल गरेका छौँ’, उनले भने, ‘छलफलमा कोरियाली पक्षले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर सकेसम्म कोरियाली रोजगारी खुला गर्ने पक्षमा रहेको जानकारी गराएका छन् ।’
कोरोना संक्रमणलाई उच्च जोखिममा राख्दै फ्रेबवरीमा मनाउन लागेको चिनियाँ नयाँ वर्षमा समेत चार जनाभन्दा बढी भेला हुन नदिने कोरिया सरकारले निर्णय गरेको छ । कोरियाले विशेष गरी कृषि क्षेत्रमा र त्यसपछि भने उद्योग क्षेत्रका लागि विदेशी कामदार भित्र्याउने तयारी गरेको छ ।
यता नेपाली पक्षले भने रोष्टरमा रहेका युवाहरूको लागि म्याद थप गर्न कोरियाली पक्षसँग आग्रह गरेको छ । भाषा परीक्षा पास गरेर रोष्टरमा रहेका करिब ११ हजार जना युवाहरूको म्याद थप गर्न कोरियाली पक्षसँग आग्रह गरेको हो । सन् २०२१ को लागि कोरियाले ५२ हजार जना विदेशी कामदार भित्र्याउने तयारी गरेको छ ।