लन्डन, पुस २२
बेलायतमा नयाँ कार खरिद गर्नेको संख्यामा कमी आएको छ । सन् २०१९ मा नयाँ कार किन्नेको संख्या घटेको सोसाइटी अफ मोटर म्यानुफ्याक्चरर्स एण्ड ट्रेडर्स (एसएमएमटी)ले जनाएको छ । एसएमएमटीका अनुसार सन् २०२० मा पनि कार खरिदमा कमी आउनेछ । यो लगातार तेस्रो वर्ष हो भने सन् २०१३ यताकै न्यून रहेको बीबीसीले जनाएको छ । उपभोक्ताहरु दोधारमा परेको र ‘कन्फिडेन्स’ घटेको तथा स्वच्छ वायुका लागि सवारीसाधनमा गरिएको कडाइले यस्तो भएको बताइएको छ ।
सोही कारण पछिल्लो समय विद्युतीय तथा हाइब्रिड सवारीसाधन निर्माणमा अधिकांश अटो उत्पादक कम्पनीहरुले ध्यान केन्द्रित गरेका छन् । सन् २०१९ मा २३ लाख १० हजार नयाँ कार खरिदको माग भएको छ । जुन सन् २०१८ को तुलनामा २.४ प्रतिशतले कम हो । सन् २०१६ मा नयाँ कार खरिदले कीर्तिमान नै कायम गरेको थियो । उक्त वर्ष २६ लाख ९० हजार नयाँ कार खरिदका लागि माग भएको थियो । खासगरी पछिल्लो समय डिजल इन्जिनका कारको माग ह्वात्तै घटेको छ ।
सन् २०१८ को तुलनामा सन् २०१९ मा २२ प्रतिशतले यस्ता कारको मागमा कमी आएको छ । तर विद्युतीय कार खरिद भने बढेको छ । पूर्ण विद्युतीय कार खरिद गर्नेको संख्या १ सय ४४ प्रतिशतले बढेको बताइएको छ । युरोपेली संघले सन् २०२१ बाट पूर्ण विद्युतीय कारको लागि समयतालिका तोकिसकेको छ ।