काठमाडौं ।
नेपाल राष्ट्र बैंकले आज सोमबार पुुनः पाँच अर्ब १० करोड रुपैयाँको बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार आज अपराह्न ३ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । यसअघि यही माघ १९ गते पनि राष्ट्र बैंकले १० अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।
राष्ट्र बैंकका अनुसार जारी मिति यही माघ २७ तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन् । सोमबार बिक्री गरिने कुुल ट्रेजरीमध्येमा ९१ दिने अवधिको १० करोड र तीन सय ६४ दिने अवधिको पाँच अर्ब रुपैयाँको रहेको छ । सो मध्ये ९१ दिने ट्रेजरीको परिपक्व हुने अवधि २०७८ वैशाख २८ गते र तीन सय ६४ दिने ट्रेजरीको परिपक्व हुुने अवधि २०७८ माघ २५ गते तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ । बिक्री गरिने कुुल ट्रेजरीमध्ये ९१ दिने अवधिको १० करोड रुपैयाँको ट्रेजरी पुरानो नवीकरणअन्तर्गतको रहेको छ भने तीन सय ६४ दिने अवधिको पाँच अर्ब रुपैयाँबराबरको ट्रेजरी भने नयाँ रहेको छ ।
यसअघि यही माघ १९ गते पनि राष्ट्र बैंकले २८ दिने अवधिको पाँच अर्ब, ९१ दिने अवधिको १० करोड र एक सय ८२ दिने अवधिको पाँच अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्री गरेको थियो । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको लागि सरकारको लागि दुुई खर्ब २५ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण उठाउने लक्ष्य लिएको छ । सोमध्ये चालू आर्थिक वर्षको प्रथम चौमासिक अवधिमा राष्ट्र बैंकले ५७ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइसकेको छ । चालू आर्थिक वर्षको आन्तरिक ऋण निष्काशन तालिकाअनुसार चालू आवको दोस्रो चौमासिक अवधिमा ५६ अर्ब र तेस्रो त्रैमासिक अवधिमा एक खर्ब १२ अर्ब रुपैयाँको आन्तरिक ऋण निष्काशन गर्ने तयारी राष्ट्र बैंकले गरेको छ ।
चालू आवको प्रथम चौमासिकको लागि छुट्याइएको कुल आन्तरिक ऋण तालिकाअन्तर्गत सात अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल र ५० अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र रहेको थियो । यसैगरी दोस्रो त्रैमासिकको लागि छुट्याइएको आन्तरिक ऋण निष्काशन तालिकाअन्तर्गत भने १३ अर्ब ५० करोड रुपैयाँबराबरको ट्रेजरी बिल, ४० अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र र दुई अर्ब ५० करोड रुपैयाँबराबरको नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र रहेका छन् ।
चालू आवको तेस्रो चौमासिक अवधिमा निष्काशन गरिने कुुल आन्तरिक ऋण निष्काशन तालिकाअन्तर्गत भने ४९ अर्ब ५० करोड रुपैयाँबराबरको ट्रेजरी बिल, ६० अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र, दुई अर्ब ५० करोड रुपैयाँबराबरको नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र रहेका छन् ।
सरकारी कोषबाट जारी गरिएको चेकको भुक्तानी अवधि १५ दिन
नेपाल राष्ट्र बैंकले सरकारी कोषबाट भुक्तानीको लागि जारी गरिएको चेकको भुक्तानी अवधि १५ दिन मात्र हुुने व्यवस्था कार्यान्वयनमा ल्याएको छ । वाणिज्य बैंकहरुको नाउँमा यही माघ २३ गते परिपत्र जारी गर्दै उक्त व्यवस्था कार्यान्वयनमा ल्याउन दिएको निर्देशन राष्ट्र बैंकले माघ २५ गते आइतबार सार्वजनिक गरेको हो ।
परिपत्रमा भनिएको छ, ‘नेपाल सरकार अर्थ मन्त्रालयले यही माघ १९ गते नेपाल राजपत्रमा सूचना जारी गरी प्रकाशित आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को नियम १३२ मा सरकारी कोषबाट भुक्तानीको लागि जारी गरिएको चेकको भुक्तानी अवधि १५ दिन हुने भनी उल्लेख हुँदा सरकारी कोषबाट भुक्तानीको लागि उक्त मितिसम्म जारी भइसकेका चेकको हकमा साबिकको व्यवस्थाबमोजिम अर्थात् ३० दिनको हदम्यादभित्र भुक्तानी गर्नुुहुन तथा त्यस उप्रान्त जारी भएका चेकहरुको भुक्तानी अवधि भने १५ दिनको मात्र हुने व्यहोरा अनुरोध गरिन्छ ।’