काठमाडौं ।
मुुलुकको वैदेशिक व्यापारघाटामा कमी आएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी छ महिनाको प्रतिवेदनअनुसार कुल वस्तु व्यापारघाटा पाँच दशमलव आठ प्रतिशतले घटी छ खर्ब ४५ करोड रुपैयाँमा झरेकोे छ ।
राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा छ दशमलव एक प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात नौ दशमलव दुुई प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात आठ दशमलव दुुई प्रतिशत रहेको थियो । चालू आवको पछिल्लो छ महिनामा कुल वस्तु निर्यात भने छ दशमलव एक प्रतिशतले बढेर ६० अर्ब ८० करोड पुगेको छ । ‘अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २६ दशमलव एक प्रतिशतले बढेको थियो’, राष्ट्र बैंकले भनेको छ ।
गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ क्रमशः आठ दशमलव चार प्रतिशत र चार प्रतिशतले निर्यात बढे पनि चीनतर्फको निर्यातमा भने पाँच प्रतिशतले कमी आएको प्रतिवेदनमा उल्लेख छ । वस्तुगत आधारमा अलैँची, धागो (पोलिष्टर तथा अन्य), जुटका सामान, पश्मिना, चाउचाउलगायतका वस्तुको निर्यात बढे पनि पाम तेल, दाल, जस्तापाता, जुस, तारलगायतका वस्तुको निर्यात घटेको प्रतिवेदनमा उल्लेख छ ।
राष्ट्र बैंकका अनुसार चालू आवको पछिल्लो छ महिनामा कुल वस्तु आयात भने चार दशमलव आठ प्रतिशतले घटेर छ खर्ब ६१ अर्ब २५ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात चार प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात तीन दशमलव पाँच प्रतिशतले बढे पनि चीन तथा अन्य मुलुकबाट भएको आयातमा क्रमशः १८ दशमलव पाँच प्रतिशत र १७ दशमलव चार प्रतिशतले कमी आएकोे छ ।
वस्तुगत आधारमा चामल, कच्चा सोयाबिन तेल, एमएस बिलेट, सुन, दूरसञ्चारका उपकरण तथा पार्टपुर्जालगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, हवाइजहाजका पार्टपुर्जा, कच्चा पाम तेल, अन्य मेसिनरी तथा पार्टपुर्जा, चाँदीलगायतका वस्तुको आयात घटेको छ । निर्याततर्फ सुख्खा बन्दरगाह, विराटनगर, कैलाली, तातोपानी, कञ्चनपुर र रसुवा भन्सार कार्यालयबाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयाततर्फ भैरहवा, विराटनगर, नेपालगञ्ज, कृष्णनगर, कैलाली र कञ्चनपुर भन्सार कार्यालयबाहेकका नाकाबाट भएको आयातमा ह्रास आएको प्रतिवेदनमा उल्लेख छ ।
खुद सेवा आय २५ अर्ब ६७ करोड रुपैयाँले घाटामा : खुद सेवा आय घाटामा देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो छ महिनाको अवधिमा खुद सेवा आय २५ अर्ब ६७ करोड रुपैयाँले घाटामा देखिएको हो । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय तीन अर्ब ७३ करोडले घाटामा रहेको थियो ।
सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ९२ प्रतिशतले कमी आई तीन अर्ब ३२ करोड कायम भएको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ४१ अर्ब २९ करोड रहेको थियो । सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण व्यय ५९ दशमलव सात प्रतिशतले कमी आई १५ अर्ब आठ करोड कायम भएको छ । यसमध्ये शिक्षातर्पmको व्यय १२ अर्ब ६६ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ३७ अर्ब ४६ करोड रहेकोमा शिक्षातर्फको व्यय १७ अर्ब ८९ करोेड रुपैयाँ रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।
चालू खाता ४९ अर्ब ५३ करोड रुपैयाँले घाटामा : चालू आर्थिक वर्षको पछिल्लो छ महिनामा चालू खाता ४९ अर्ब ५३ करोडले घाटामा रहेको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा चालू खाता ७९ अर्ब ६५ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ६९ करोड ९४ लाखले घाटामा रहेको चालू खाता समीक्षा अवधिमा ४२ करोड २७ लाखले घाटामा रहेको छ ।
राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर आठ दशमलव एक प्रतिशतले कमी आई छ अर्ब ८५ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ३७ दशमलव तीन प्रतिशतले कमी आई सात अर्ब ६६ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर सात अर्ब ४६ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १२ अर्ब २० करोड रहेको थियो ।
समीक्षा अवधिमा शोधनान्तर स्थिति भने एक खर्ब २४ अर्ब ९२ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २६ अर्ब ६५ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २३ करोड ५३ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा एक अर्ब पाँच करोडले बचतमा रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।
छ महिनामा चार खर्ब ९५ अर्ब ३१ करोड रेमिट्यान्स : आर्थिक वर्षको छ महिनाको अवधिमा रेमिट्यान्स अर्थात् विप्रेषण आप्रवाह ११ दशमलव एक प्रतिशतले बढेर चार खर्ब ९५ अर्ब ३१ करोड पुगेको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह शून्य दशमलव छ प्रतिशतले बढेको थियो ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह छ दशमलव सात प्रतिशतले वृद्धि भई चार अर्ब १९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह शून्य दशमलव नौ प्रतिशतले बढेको थियोे । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ७७.६ प्रतिशतले घटेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १७.७ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६८ दशमलव नौ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ०.५ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर आठ दशमलव नौ प्रतिशतले वृद्धि भई पाँच खर्ब ४९ अर्ब ५१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर शून्य दशमलव चार प्रतिशतले घटेकोे थियो ।