अमेरिका ।
मंगलबार बिटक्वाइन भर्चुअल मुद्राको मूल्य ५० हजार अमेरिकी डलर नजिक पुगेको छ । अमेरिकी अर्बपति एलन मस्कको कार कम्पनी टेस्लाले डेढ अर्ब अमेरिकी डलरको बिटक्वाइन खरिद गरेको समाचार बाहिरिएपछि डिजिटल पैसाको मूल्य आकाशिएको एजेन्सीहरुले जनाएका छन् ।
बिटक्वाइन सर्वाधिक लोकप्रिय क्रिप्टोकरेन्सी हो । सन् २०२०को मार्चमा ह्वात्तै घटेको बिटक्वाइन मंगलबारसम्म आइपुग्दा ११ सय ५० प्रतिशतले महंगो भएको छ । संस्थागत लगानीकर्ताले वैकल्पिक खजानाको खोजी गर्दा र खुद्रा व्यापारीले रुचि देखाउँदा बिटक्वाइन महंगिँदै गएको बताइएको छ । पाँच वर्षअघि मात्रै यसको मूल्य केही सय डलर मात्रै थियो । सोमबार टेस्लाले किनेको समाचार आएसँगै बिटक्वाइन एकैचोटि २० प्रतिशतले बढेको थियो । टेस्लाले भविष्यमा बिटक्वाइनबाटै कार खरिदबिक्री गर्नसक्ने जनाएको छ ।
बिटक्वाइनको मूल्य वृद्धिदर तीन वर्षयताकै उच्च हो । उक्त दरले बढेको बिटक्वाइन अहिले ४८ हजार दुई सय १६ अमेरिकी डलर पुगेको छ । यो भनेको टेस्लाको मोडल वाई एसयूभी किन्न पर्याप्त रकम हो । बिटक्वाइनबाहेक एथेरम नामक अर्को भर्चुअल मुद्रा पनि मंगलबार प्रति एक बराबर १७ सय ८४ दशमलव ८५ अमेरिकी डलर पुगेको छ ।