काठमाडौं ।
गएको शुक्रबार दरबारमार्गमा सरकारले एउटा ठूलो प्रदर्शन ग-यो । प्रधानमन्त्री केपी शर्मा ओलीकै भनाइअनुसार यो इतिहासकै ठूलो आमसभा हो । त्यसको केही दिनपछि प्रधानमन्त्रीकै सल्लाहकारले फिता नापरेर हेरौँ भन्दै तीन लाखको संख्या भएको बाजी गरे । यो आमसभामा नरभक्षीका कुरा उठे । त्यस्ता कामलाई चिडियाखाना पठाउने भनियो । तर त्यो दिन एक किशोरीको बलात्कारपछि हत्याको घटना सार्वजनिक भएको तेस्रो दिन भएको थियो । त्यो लासमाथि पनि खेलबाड हुने ठानेर स्थानीय त्यसलाई रुँगेर जंगलमै बसिरहेका थिए । उनीहरू सरकारले हत्यारा पत्ता नलगाएसम्म लासको यसरी नै निगरानी गरिरहने, नबुझ्ने भन्ने अडानमा थिए । तर यो घटनका बारे न प्रधानमन्त्री न गृहमन्त्री कसैले आफ्ना नागरिकलाई सुरक्षा व्यवस्थाप्रति आश्वस्त पार्न एक शब्द नै बोले ।
सभामा ठूलो जनसमुदाय उपस्थित भएकोमा प्रधानमन्त्री भावुक भएर रोएका भन्ने विवरण पनि सार्वजनिक गरे प्रधानमन्त्रीका सल्लाहकारले । तर सुदूर जिल्ला बैतडीको यो घटना सरकारको जानकारीमा आएको छ भन्ने सूचनासम्म दिइएन त्यस दिन । घटनाको हप्तादिन बित्दासम्म स्थिति यस्तै थियो । यो घटनाले नै बुझाउँछ राज्य कुन हदसम्मको अवस्थामा पुगेका छ भन्ने ।
सार्वजनिक भएका विवरणअनुसार गएको दुई वर्षमा मात्रै यो दिनसम्म आइपुग्दा तीन हजार तीन सय ४७ बालिका बलात्कृत भएछन् । यो प्रहरीको प्रतिवेदन हो । यसमध्ये १७ को त बलात्कारपछि निर्ममतापूर्वक हत्या नै भयो । २०७५ सालमा कञ्चनपुरकी १४ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा कतिपय घटनाहरूले अपराधीतर्फ इङ्गित गर्दागर्दै पनि सरकारले दोषी पत्ता नलगाएको र त्यसबेला जनआक्रोशका सामना गर्न छानबिन गर्नेमाथि कारबाही गरेजस्तो गरिए पनि त्यो देखावटी मात्रै थियो भन्ने कुरा कारबाही फुकुवा गरेसँगै पुष्टि नै हुनगयो । यसै कारण क्रूरताको त्यो नमूनाको दिन बन्न गएको हो, जो दुई वर्ष छ महिना बढी हुँदै छ ।
यता रिपोर्टमा भने आइरहेका छन् उता सरकारको आवस्था भने झनै उदासीन बन्दै गएको देखिन्छ । यति बेलाको दुःखद पक्ष भनेकै यही हो र यस्तो अवस्था कहिलेसम्म कायम रहला भन्ने एउटा ठूलो सामाजिक त्रासका क्षणहरू बढरिहेका छन् । त्रास मात्र होइन यस्तो विभत्स ढङ्गले ज्यान लिने र अपराधीहरू लुकिरहने अवस्था पनि बढ्दै गएको छ, जसको उदाहरण हो बैतडी घटना ।
रापाविरुद्ध संगठित सामाजिक आक्रोश व्यक्त भएको निर्मला पन्त प्रकरणपछि हो । तर, न अहिलेसम्म उनको अपराधी भेटिएको छ, न बलात्कारको अत्यासलाग्दो शृङ्खला थामिएको छ । प्रहरीको विवरणमा रहेअनुसार बलात्कारका घटना सरकारको सक्रियताबाट घट्नुभन्दा झन् बढिरहेका छन् । यो भनेको धेरै नै गम्भीर चिन्ताको विषय हो । प्रहरी कार्यालयमा रहेका तथ्याङ्कअनुसार पछिल्ला पाँच वर्षमा बलात्कारका ११ हजार घटना त दर्ता भए यसमा पाँच हजारको संख्या त आफ्नो यौन अङ्गको पहिचान समेत नभइसकेका बालिका रहेका छन् । यो जतिको दुःखद के होला अनुमान गर्न सकिन्छ ।
०७५ साउन १० मा कञ्चनपुरकी निर्मला पन्तदेखि २१ माघ ०७७ मा बैतडीकी भागरथीसम्म आइपुग्दाको चित्र हो यो । पन्तको बलात्कारपछिको हत्या घटनामा दोषी उम्किएपछि त्यसको सन्देश देशैभरि पुगेको अनुमान छ विज्ञहरूको । जस्तो आर्थिक वर्ष ०७६/०७७ मा दुई तथा ०७५/७६ मा ११ जनाको हत्या भएको थियो । यो तथ्यले सन्देश कस्तो गइरहेको भन्ने देखाउँछ जो डरलाग्दो छ ।