काठमाडौं ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २०औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । कम्पनीले बुधबार वीरगञ्जमा वार्षिक साधारणसभा सम्पन्न गरेको हो । सभाले सेयरधनीहरूलाई चुक्ता पुँजी जीको ३१ प्रतिशत बोनस सेयर तथा प्रतिसेयर २० (करसहित) नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको छ । बोनस सेयर वितरणपश्चात् कम्पनीको चुक्ता पुँजी जीवन बीमा क्षेत्रकै सर्वाधिक अर्थात् सात अर्ब १९ करोड ९९ लाख ७० हजार छ सय ६१ रुपैयाँ पुग्नेछ ।
अध्यक्ष गोविन्दलाल संघईको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभामा स्वागत मन्तव्य एवं वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै उनले समिक्षा वर्षमा कम्पनीले कुल बीमाशुल्क आम्दानीमा सर्वाधिक करिब ३० दमसलव नौ प्रतिशत बजारहिस्सा हासिल गर्न सफल भएकोमा सम्बद्ध सबैमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरे ।
अध्यक्ष संघईले दुई दशकमा जीवन बीमा क्षेत्रमा कम्पनीको व्यावसायिक हिस्सा र गरिमालाई तमाम चुनौतीहरूबीच अझै नयाँ उचाइमा अगाडि बढाउनका लागि संरचनात्मक सुधार, संस्थागत सुशासनको पूर्ण पालना, सुदृढ आन्तरिक नियन्त्रण प्रणाली, सेवा प्रणालीमा नवीन प्रविधिको प्रयोग, सम्पत्ति र दायित्वबीचको सन्तुलन, ग्राहक केन्द्रित योजना, विकेन्द्रीकरण, तालिम एवं अनुसन्धान तथा नयाँ बजारीकरण रणनीति अवलम्बन गरी आगामी दशकको अर्को सुनौलो यात्रातर्फ अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
साना लगानीकर्ताहरूको समेत कम्पनीको सेयरमा सहज पहुँचका लागि कम्पनीले विद्यमान प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँको व्यवस्थालाई परिवर्तन गरी प्रतिसेयर अंकित मूल्य ५० रुपैयाँ कायम गर्ने प्रस्ताव पारित गरेको छ ।
कम्पनीले बीमा समितिबाट जारी लगानी निर्देशिकाको परिधिभित्र रही दिगो एवं भरपर्दो लगानीका क्षेत्रहरूमा लगानी विस्तार तथा विविधीकरण गर्दै जाने नीति लिएको छ । सम्पत्ति र दायित्वबीच सन्तुलन कायम गर्न पुँजीगत लगानी वृद्धि गर्न आवश्यक भएकोले मुलुकका विभिन्न सहरहरूमा दीर्घकालीन पुँजीगत लगानी गर्ने तर्फ ठोस कार्य गर्ने लक्ष्यका साथ कम्पनी अगाडि बढेको छ ।
सभाबाट आव २०७५–०७६ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, आयव्यय हिसाब, नगद प्रवाह विवरणहरू एवं कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा गरिएको संशोधन प्रस्तावहरू सभाद्वारा पारित भएको छ ।
सभाबाट सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक निर्वाचनबाट विमलप्रसाद ढकाल र कृष्णराज लामिछाने निर्विरोध निर्वाचित भएका छन् । साथै सञ्चालक समितिको माघ २७ गते मंगलबार बसेको तीन सय १५औं बैठकबाट कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरी सोको स्विकृतिको लागि बीमा समितिमा पठाउने निर्णय गरेको छ ।
हाल यस कम्पनीको लगानी एक सय पाँच दशमलव ५७ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमाकोष एक सय एक अर्ब ७८ करोड रुपैयाँ र सेयरधनी कोष आठ अर्ब ८५ करोडभन्दा बढी रहेको छ । कम्पनीमा एक लाख ६९ हजार चार सय ८७ भन्दाबढी प्रशिक्षित अभिकर्ता रहेका छन् ।
कम्पनीले आफ्ना सेवाग्राहीहरू तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना हाल करिब दुई सय शाखा तथा उपशाखाहरूमार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । कम्पनीमा हालसम्म वैदेशिक रोजगार समेत गरी २८ लाखभन्दा बढी व्यक्ति बीमित भइसकेका छन् । ग्राहकहरूको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरूसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।