काठमाडौं ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालमा नै विद्युतीय सवारीसाधनहरुको उत्पादन थाल्न अटोमोबाइल्स व्यवसायीहरुलाई आग्रह गरेका छन् ।
नेपालमा विद्युतीय सवारीसाधनहरुको प्रशस्त सम्भावना देखिएको भन्दै उनले विद्युतीय सवारीसाधनहरुको उत्पादन थाल्न सुझाव दिए । त्यसका लागि आवश्यक नीतिनियमहरुको तर्जुमा आफूले गरिदिने उनको भनाइ थियो । अर्थमन्त्रीलाई भेट्न बुधबार अर्थ मन्त्रालय पुगेको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको प्रतिनिधिसँग उनले अटोमोबाइल्स क्षेत्रमा रहेका समस्याहरु समाधान गर्न समेत सरकार तयार रहेको बताए । भेटमा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले नाडाले फेयर ट्रेड विश्वास गर्दै आएको बताउँदै सवारीसाधनहरुको आयातमा देखिएका समस्याहरु समाधान गर्न सरकारसँग आग्रह गरे ।
नाडाका उपाध्यक्ष तथा सवारीसाधन समितिका सभापति करण चौधरीले आर्थिक वर्ष २०७७/०७८ को बजेटले नेपालमा आधिकारिक बिक्रेता नभएका कुनै कम्पनीले सवारी वा ढुवानीका साधन पैठारी गरेमा त्यस्ता सवारीसाधन तथा ढुवानी साधनको मूल्यको ३० प्रतिशत जरिवाना गरी जाँचपास गर्न सकिनेछ भन्ने नयाँ व्यवस्था गरेकोले उत्पादक कम्पनीद्वारा नियुक्त जुनसुकै बिक्रेताबाट पनि सवारीसाधन आयात गर्नसक्ने अवस्था कायम हुँदा उत्पादक कम्पनीको कुनै जानकारी वा दायित्व नै नरहने अवस्था उत्पन्न भएकोतर्फ ध्यानाकर्षण गराए । त्यसैगरी नाडाका महासचिव तथा स्पेयर पाट्र्स समितिका सभापति सुनिल रिजालले स्पेयर पाट्र्सको आयातमा देखिएका समस्याहरुबारे अर्थमन्त्रीलाई जानकारी गराएका थिए ।