काठमाडौं ।
सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने भएको छ । बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन)सम्बन्धी विनियमावली, २०७३ बमोजिम सिटिजन्सले नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतप्राप्त, विराटनगरमा प्रधान कार्यालय रहेको सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने गरी आज उक्त कम्पनीसँग प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । बुधबार विराटनगरमा आयोजित एक कार्यक्रमका बीच सिटिजन्सकातर्फबाट सञ्चालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक प्रबलजंग पाण्डे र सिर्जना फाइनान्स लिमिटेडका तर्फबाट सञ्चालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक सुवास आचार्यले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृतिपश्चात् तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ति गरी संयुक्त कारोबार प्रारम्भ गर्ने गरी तयारीहरू भइरहेको छ । २०७७ साल माघ २७ गतेसम्मको तथ्यांकको आधारमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिर्जना फाइनान्स लिमिटेडलाई समेत प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप करिब एक खर्ब ३४ अर्ब रुपैयाँ हुनेछ भने सर्वसाधारणलाई दिएको ऋण लगानी करिब एक खर्ब ११ अर्ब रुपैयाँ हुनेछ । प्राप्तिपश्चात् बैंकको कुल शाखा एक सय ८८ हुनेछ । हाल यस बैंकको प्रदेश नं १ मा १३ वटा शाखा रहेकोमा सिर्जना फाइनान्स लिमिटेडको प्राप्तिपश्चात् उत्त प्रदेशमा बैंकको जम्मा २७ वटा शाखाहरू र प्रदेश नं २ मा २१ वटा शाखाहरू रहेकोमा प्राप्तिपश्चात् उक्त प्रदेशमा २८ वटा शाखाहरू हुनेछन् ।
सेयर स्वाप रेसियो विस्तृत मूल्यांकन प्रतिवेदनद्वारा सिफारिस भएबमोजिम निर्धारण गर्ने सहमति भएको छ । प्राप्तिपश्चात् बैंकको पहुँच बढ्नगई प्रतिस्पर्धात्मक क्षमताको अभिवृद्धि हुने, बैंकको वित्तीय, मानव–संसाधनका साथै प्राविधिक एवं अन्य क्षमताको अभिवृद्धि भई ग्राहक वर्गलाई आधुनिक, गुणस्तरीय तथा भरपर्दो बैंकिङ सुविधा प्रदान गर्न सहज हुने र देशको बैंकिङ तथा वित्तीय प्रणालीलाई सुशासित, सुरक्षित, स्वस्थ, कुशल तथा सक्षम बनाई वित्तीय क्षेत्रको स्थायित्व कायम गर्न मदत पुग्ने विश्वास बैंकले लिएको छ ।
सिटिजन्सले देशैभरि फैलिएका आफ्ना एक सय नौवटा शाखा, ९८ वटा एटीएम र एक सय सात वटा शाखारहित बैंकिङ इकाइहरूबाट करिब सात लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ । बैंकले नवीनतम प्रविधिको अधिकतम प्रयोग गर्दै आफ्ना ग्राहकहरूको वित्तीय आवश्यकताहरू डिजिटली च्यानलको माध्यमबाट प्रदान गरिरहेको छ ।
यसलाई मूर्तरूप प्रदान गर्न बैंकले चेकको प्रयोग नगरी मोबाइल बैंकिङ एपमा लगइन गरेर काउन्टरमा भएको क्यूआर कोड स्क्यान गरी खाताबाट रकम झिक्न स्क्यान एण्ड विथ ड्र सेवा, मोबाइल बैंकिङको पिन नं बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झट नगरी घरबाटै पिन रिसेट गर्न सकिनेजस्ता सेवाहरूको थालनी गरेको छ । यसप्रकारको सेवाबाट डिजिटल बैंकिङ सभ्यताको विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
व्यावसायिक ज्ञानको कमी, वित्तीय बजारको यथार्थ जानकारी नहुनु, नीति, नियम र प्रणालीसँग परिचित नहुनु तथा व्यावसायिक तालिम र अभिमुखीकरणको अपर्याप्तता, उचित परामर्शको अभाव, वित्तीय साक्षरता र पहुँचको कमीले लगानीयोग्य पुँजी सदुपयोग हुन नसकेको परिस्थितिलाई न्यूनीकरण गर्न यस बैंकले वित्तीय साक्षरताका कार्यक्रमहरूका साथसाथै सुलभ र सहज तवरले सहुलियतपूर्ण कर्जा प्रवाह गर्दै आएको छ ।