काठमाडौं ।
मलेसियामा कार्यरत नेपालीले पनि त्यहाँको सामाजिक सुरक्षा योजनामा सहभागी हुन पाउने भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मलेसियामा कार्यरत नेपालीलाई मलेसियाको सामाजिक सुरक्षा योजनामा सहभागी हुन दिने निर्णय गरेको हो । योसँगै उनीहरु योजनामा सहभागी हुन पाउने भएका हुन् ।
मन्त्रिपरिषद्ले गरेको निर्णयमा मलेसियाका सामाजिक सुरक्षा संस्था (सोक्सो) सँगको समझदारीपत्र स्वीकृत तथा सो समझदारीपत्रमा हस्ताक्षर गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई अख्तियारी प्रदान गरेको जनाएको छ । मन्त्रिपरिषद्को सो निर्णयसँगै मलेसियामा रहेका नेपाली श्रमिकहरु लाभान्वित हुने भएका छन् ।
२०१९ को सुरुका दिनदेखि विदेशी कामदारको हकमा प्रभावकारी रुपमा उक्त योजना कार्यान्वयन गरेको मलेसियाले रोजगारीको क्रममा घाइते, बिरामी र दुर्घटना भएमा नगद, उपचारलगायत सुविधा प्रदान गर्ने गरेको छ । मलेसियाली श्रम विभागमार्फत सोही समयदेखि विदेशी कामदार क्षतिपूर्ति योजना (एफडब्लुसीएस) प्रभावकारी रुपमा कार्यान्वयन गरेको छ । मलेसियाली सरकारले सो सुविधाअन्तर्गत विदेशी कामदारहरुको बीमा, सामाजिक सुरक्षालगायतका सेवा सुविधा प्रदान गर्ने गर्छ ।
योजनामा सहभागी हुन विदेशी कामदारहरुले मासिक तलबको एक दशमलव २५ प्रतिशत योगदान गर्नुपर्ने हुन्छ । उनीहरुले महिना सुरु भएको १५ दिनसम्ममा सो रकम बुझाउनुपर्ने हुन्छ । योजनामा सहभागी हुने कामदारहरुले स्थायी निबासी तथा अस्थायी निबासीको परिचयपत्र समेत प्राप्त गर्नेछन् भने सोहीअनुरुप सुविधा प्राप्त गर्न सक्नेछन् ।
मलेसियाको सामाजिक सुरक्षा योजना विशेष गरी विदेशी कामदारको हकमा भने दुर्घटनामा प्राप्त हुने सुविधामा आधारित रहेको छ । योजनामा आबद्ध विदेशी कामदारको हकमा घाइते, बिरामी मात्र नभई मृत्यु भएको खण्डमा समेत शव स्वदेश फर्काउन तथा दाहसंस्कारका लागि समेत सरोकारावालालाई सुविधा प्रदान गर्ने हुँदा यसबाट नेपाली कामदार समेत लाभान्वित हुने देखिन्छ । सन् १९९३ अप्रिलदेखि मलेसियाले विदेशी कामदारहरु उक्त योजनामा आबद्ध गर्दै आएको छ ।