काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघले कोेरोनाविरुद्धको खोप उद्योगी व्यवसायीलाई पनि तत्काल लगाउने व्यवस्था गर्न माग गरेको छ । महासंघको स्वास्थ्य तथा सीप विकास समितिका सभापति हेमराज ढकालसहितको प्रतिनिधिमण्डलले स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई भेटी उद्योगी व्यवसायी पनि कोरोना मारमा परेको भन्दै तत्काल कोरोनाविरुद्धको खोप अभियानमा सहभागी गराउन माग गरेको हो ।
सभापति ढकालले तत्कालका लागि उद्योगी व्यवसायीका लागि पाँच हजार डोज खोप उपलब्ध गराउन सरकारसँग आग्रह गरे । कोरोनाका कारण निजी क्षेत्र पनि आक्रान्त भइरहेकाले महासंघसँग आबद्ध जिल्ला नगर, वस्तुगत तथा एसोसिएट्स सदस्यहरुका लागि सरकारले तत्कालै पाँच हजार डोज कोरोनाविरुद्धको खोप उपलब्ध गराउनुपर्ने उनले बताए । साथै ढकालले सरकारले ल्याएर उद्योगी व्यवसायीलाई खोप उपलब्ध गराउन नसक्ने भए उक्त खोप निजी क्षेत्रलाई नै ल्याउन दिन समेत आग्रह गरे ।
साथै पछिल्लो समय सरकारी निकायहरूबीच समन्वय नहुँदा व्यवसायीले दुःख पाएको भन्दै समितिले त्यस विषयमा समेत सरकारको ध्यानाकर्षण गराएको छ । विशेषगरी एउटा निकायको सहमतिमा व्यवसायीहरूले आयात गरेको सामान अर्को निकायले रोक लगाएर दुःख दिने गरेको भन्दै व्यवसायीमैत्री वातावरण बनाउन समितिले आग्रह गरेको छ । यसअघि खाद्य विभागले स्वीकृति दिएर आयात गरेको भिटामिन स्वास्थ्य विभागले रोकेको भन्दै समितिले सरकारी संयन्त्रबीच एकरुपता ल्याउन आग्रह गरेको हो ।
मन्त्री त्रिपाठीले पहिलो चरणमा ल्याएको प्राथमिकताको क्रममा दिन सुरु गरिएकोले दोस्रो चरणको खोप आयातपछि उद्योगी व्यवसायीहरूलाई प्राथमिकतामा राखिने बताए । साथै मन्त्री त्रिपाठीले निजी क्षेत्रलाई कोरोनाको खोप आयात गर्न दिने विषयमा समेत सरकार सकारात्मक रहेको बताए । भेटवार्तामा महासंघको स्वास्थ्य तथा सीप विकास समितिका सहसभापति भक्त हमाल, सदस्यहरू सुरेश घिमिरे र हेमराज बडालको उपस्थिति रहेको थियो ।