काठमाडौं, पुस २३
चिनियाँ लगानी रहेको होङ्सी सिमेन्ट प्रालिले उत्पादन गरेको होङ्सी सिमेन्ट गुणस्तरहीन भेटिएको छ । गुणस्तरहीन सिमेन्ट पाएसँगै नेपाल गुणस्तर तथा नापतौल विभागले प्रालिलाई कारबाही प्रक्रिया अघि बढाएको छ । विभागका निर्देशक सञ्जीव कुमार ठाकुरले बजार अनुगमनको क्रममा होङ्सी सिमेन्ट गुणस्तरहीन पाएको बताए । ‘हामीले बजार अनुगमन गर्दा होङ्सी सिमेन्ट संकलन गरेका थियौं’, उनले भने, ‘संकलनपछि परीक्षण गर्ने क्रममा होङ्सी गुणस्तरहीन भेटेका हौं ।’ विभागले आफ्नो प्रयोगशालामा सिमेन्टको परीक्षण गरेको थियो ।
‘प्रयोगशालामा परीक्षण गर्दा सिमेन्ट नेपाल गुणस्तरअनुरुप पाएनौं’, उनले भने, ‘त्यसैले हामीले नेपाल गुणस्तर (प्रमाण चिह्न) ऐन २०३७ तथा नियमावली २०४० अनुसार कानुनी कारबाही प्रक्रिया समेत अघि बढाएका छौं ।’ कारबाहीस्वरुप होङ्सीका उत्पादनकर्तालाई १५ दिनभित्र विभागमा उपस्थिति भई स्पष्टीकरण दिन निर्देशन दिएको छ । ‘नेपाल गुणस्तर (प्रमाण चिह्न) नियमावली २०४० को नियम (१६) अनुसार १५ दिने स्पष्टीकरण सोधिएको हो’, उनले भने ।
उनले होङ्सीको संकलित नमूनाको इनिसियल सेटिङ टाइम (३० मिनेट)ले नेपाल गुणस्तर ४९ अनुरुप नरहेको पाइएको बताए । होङ्सी सिमेन्ट प्रालिको नाममा उद्योग विभागमा दर्ता भएको छ भने नवलपरासीको बेनीमनिपुरमा उद्योगमा छ । अघिल्लो वर्ष (२०७५) जेठदेखि उत्पादन थालेको होङ्सीले ओपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ । दैनिक ६ हजार टन सिमेन्ट उत्पादन गर्दै आएको होङ्सीले व्यावसायिक उत्पादन भने २०७५ को जेठदेखि थालेको हो । यद्यपि उद्योगको पूर्ण क्षमता भनेको १२ हजार टन रहेको छ ।
नेपालमा रहेका उद्योगहरुमध्ये सबैभन्दा बढी तीन हजार टन सिमेन्ट उत्पादन हुँदै आएको छ । तीन हजार टन सिमेन्ट उत्पादन गर्नेमा अर्घाखाँची सिमेन्ट हो । विदेशी लगानीको होङ्सी आएसँगै सबैभन्दा बढी सिमेन्ट उत्पादन गर्नेमा होङ्सी रहेको छ । गत भदौ १८ गते नेपाल लगानी बोर्ड र होङ्सी प्रालिबीच परियोजना लगानी सम्झौता भएको थियो । होङ्सीमा चिनियाँ लगानीकर्ताहरुले ३६ अर्ब ७५ करोड रुपैयाँ लगानी रहेको बताउँदै आएका छन् । होङ्सी सिमेन्टका सञ्चालकमा सतिश मोर समेत रहेका छन् ।
चिनियाँ लगानीकर्ताहरुको लगानी रहेको भनिँदै आएको सो सिमेन्ट कम्पनीको लगानीकर्ताहरु को–को हुन् भन्ने विषयमा समेत विवाद भएको देखिन्छ । आएको होङ्सीले आफनो वित्तीय विवरण सार्वजनिक गरेको छैन । नेपाली लगानीकर्ताहरुले भने चिनियाँहरुको ७० प्रतिशत र नेपालीको ३० प्रतिशत लगानीमा कम्पनी चलेको बताउँदै आएका छन् । अघिल्लो आर्थिक वर्ष (२०७५/०७६) को पहिलो चार महिनामा ३७ करोड १४ लाख नाफा कमाएको होङ्सीको यस आव (२०७६/७७) को सोही अवधिको नाफा भने घटेको छ । चालू आवको पहिलो चार महिनामा १९ करोड ८६ लाख रहेको छ ।