काठमाडौं ।
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनको लागि आयोगले तयार गरेको निर्वाचन आचारसंहिता– २०७७ को मस्यौदाका बारेमा राजनितिक दलहरूसँग छलफल गरेको छ । आयोगले आइतबार संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधिसँग उक्त मस्यौदाका बारेमा छलफल गरेको हो । छलफल कार्यक्रममा सहभागी भएका राजनीतिक दलका प्रतिनिधिलाई प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आयोगले तयार गरेको निर्वाचन आचारसंहिता, २०७७ को मस्यौदामा दलको तर्फबाट सुझाव दिन आग्रह गरेका थिए ।
छलफलमा सहभागी राजनीतिक दलका प्रतिनिधिहरूले निर्वाचन आचारसंहिताको कार्यान्वयनलाई प्रभावकारी बनाउनु पर्ने, अनुगमनकर्ता तथा अनुगमन समितिलाई प्रभावकारी बनाउनु पर्ने, दलको निर्वाचन खर्च पारदर्शी हुनुपर्ने, मतदानपश्चात् मतदान केन्द्रबाट मतपेटिका ढुवानी गर्ने क्रममा दल तथा उम्मेदवारका प्रतिनिधिलाई मतपेटिकासँगै आउने व्यवस्था मिलाउनु पर्ने, मतदानस्थलमा सीसी क्यामराको प्रयोग गर्नुपर्नेलगायतका महत्वपूर्ण विषयहरूमा लिखित एवं मौखिकरूपमा सुझाव दिएको निर्वाचन आयोगले जनाएको छ । उक्त कार्यक्रममा संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने १२ वटा राजनीतिक दलका प्रतिनिधिको उपस्थिति रहेको थियो ।
उक्त छलफल कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, निर्वाचन आयुक्तहरू नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल, रामप्रसाद भण्डारी र डा. जानकीकुमारी तुलाधर, आयोगका सचिव देवकुमारी गुरागाईँलगायतको उपस्थिति रहेको थियो । सरकारले आगामी वैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन गर्नेगरी प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति तोकेको छ ।