काठमाडौं ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । समायोजन गरिएको मूल्य मंगलबार राति १२ बजेदेखि लागू भएको छ । निगमले डिजेल, पेट्रोल, मट्टितेल आन्तरिक हवाइ इन्धनको मूल्य प्रतिलिटर दुई रुपैयाँका दरले वृद्धि गरेको हो । मूल्य वृद्धिपछि काठमाडौँ उपत्यकामा पेट्रोल प्रतिलिटर एक सय १४ रुपैयाँ, डिजेल तथा मट्टितेलको ९७ रुपैयाँ र आन्तरिक हवाइ इन्धनको मूल्य प्रतिलिटर ६७ रुपैयाँ कायम गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।
मूल्य समायोजनपश्चात् पनि निगमलाई पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ ८२ पैसा, डिजेलमा प्रतिलिटरर चार रुपैयाँ १३ पैसा र खाना पकाउने एलपी ग्यासमा दुई सय ९५ रुपैयाँ ८३ पैसा घाटा रहेको छ । अर्धमासिक रुपमा करिब ८६ करोड ७८ लाख घाटा नै रहनेछ ।
सो घाटा रकम मूल्य स्थिरीकरण कोष तथा निगमको सञ्चित नाफाबाट व्यवसथापन गरिनेछ । मूल्य समायोजनपश्चात् पनि भारतीय सीमा रक्सोलसँग जोडिएको नेपालको वीरगञ्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर ३५ रुपैयाँ २९ पैसा र डिजल प्रतिलिटर ४१ रुपैयाँ ४३ पैसाले नेपालतर्फ सस्तो रहेको निगमका प्रवक्ता उपाध्यायद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।