काठमाडौं ।
नेपाल राष्ट्र बैंकले गेटवे पेमेन्ट सर्भिस प्रालिलाई ‘भुक्तानी प्रणाली सञ्चालक’ सञ्चालनको अनुमति प्रदान गरेको छ । राष्ट्र बैंकले बुधबार उक्त अनुमति दिएको हो । अनुमतिको पत्र दिएपछि कम्पनीका अध्यक्ष कमलनाथ प्रधानलाई राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले शपथग्रहण गराएका थिए ।
सो कार्यक्रममा प्रधानले आगामी दिनमा कम्पनीले विभिन्न माध्यमबाट नेपालमा सरलरूपमा डिजिटल भुक्तानी प्रणाली भित्र्याउनुका साथै भुक्तानी प्रणालीलाई अझ प्रभावकारी बनाई नेपालका ठूला तथा मझौला व्यापारीहरूको उत्पादित वस्तु तथा सेवाहरू सर्वसुलभरूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा बिक्रीवितरण गर्न सहयोग पु-याउने विश्वास व्यक्त गरे ।
साथै उनले व्यवसायीहरूलाई आत्मनिर्भर गराउने र देशको अर्थतन्त्रमा आर्थिक टेवा पुग्छ भन्दै कम्पनीले नेपालमा विभिन्न देशहरूबाट भुक्तानी ल्याउनको लागि एनआईसी एसिया बैंक लिमिटेडसँग सहकार्य गरी कम्पनीको दूरदृष्टि र लक्ष्य प्राप्त गर्न अथक प्रयास गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
कम्पनी सञ्चालनमा ल्याउन विशेषरूपमा सहयोग पु-याउने सम्पूर्ण सेयरधनीहरू, शुभचिन्तकहरू, नेपाल राष्ट्र बैंकका विभिन्न विभाग तथा नियमनकारी निकायहरूलाई प्रधानले कम्पनीको तर्फबाट धन्यवाद दिएका थिए ।