काठमाडौं ।
बैंकिङ क्षेत्रको कुल निक्षेप रकम ४२ खर्ब ८८ अर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको माघ मसान्तसम्ममा सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी १९ वटा विकास बैंक र २१ वटा फाइनान्स कम्पनीहरूले उक्त अनुपातमा निक्षेप संकलन गरेका हुन् । यस अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरूको कुल कर्जा रकम भने ३७ खर्ब ३० अर्ब रुपैयाँको हाराहारीमा रहेको छ ।
वाणिज्य बैंकहरूले मात्र भने यस अवधिमा ३७ खर्ब ८० अर्ब रुपैयाँको हाराहारीमा निक्षेप संकलन गरी ३३ खर्ब सात अर्ब रुपैयाँको हाराहारीमा कर्जा प्रवाह गरेका छन् । राष्ट्र बैंकका अनुसार यस अवधिमा विकास बैंक र फाइनान्स कम्पनीहरूले भने पाँच खर्ब नौ अर्ब रुपैयाँको हाराहारीमा निक्षेप संकलन गरी चार खर्ब २३ खर्ब रुपैयाँको हाराहारीमा कर्जा प्रवाह गरेका छन् । चालू आर्थिक वर्षको पछिल्लो छ महिनाको अवधिमा भने बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप नौ दशमलव दुई प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप छ दशमलव दुई प्रतिशतले बढेको थियो ।
राष्ट्र बैंकका अनुसार वार्षिक विन्दुगत आधारमा २०७७ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप २२ प्रतिशतले बढेको छ । २०७७ पुसमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः आठ दशमलव पाँच प्रतिशत, ३३ दशमलव छ प्रतिशत र ४९ दशमलव दुई प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अंश क्रमशः आठ दशमलव पाँच प्रतिशत, ३१ दशमलव नौ प्रतिशत र ४९ दशमलव दुुई प्रतिशत रहेको थियो । राष्ट्र बैंकका अनुसार २०७७ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४२ दशमलव पाँच प्रतिशत रहेको छ । २०७६ पुस मसान्तमा यस्तो निक्षेपको अंश ४५ दशमलव एक प्रतिशत रहेको थियो ।
चालू आर्थिक वर्षको पछिल्लो छ महिनामा निजी क्षेत्रमा प्रवाहित कर्जा ११ दशमलव चार प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा आठ दशमलव छ प्रतिशतले बढेको थियो । राष्ट्र बैंकका अनुसार वार्षिक विन्दुगत आधारमा २०७७ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा १४ दशमलव नौ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह ११ दशमलव तीन प्रतिशतले, विकास बैंकहरूको कर्जा प्रवाह १५ दशमलव तीन प्रतिशतले र फाइनान्स कम्पनीहरूको कर्जा प्रवाह शून्य दशमलव तीन प्रतिशतले बढेको छ ।
राष्ट्र बैंकका अनुसार २०७७ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ६६ दशमलव तीन प्रतिशत कर्जा घरजग्गाको धितोमा र १२ दशमलव दुई प्रतिशत कर्जा चालू सम्पत्ति अर्थात् कृषि तथा गैरकृषिजन्य वस्तुको धितोमा प्रवाह भएको छ ।
२०७६ पुस मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६४ दशमलव नौ प्रतिशत र १३ दशमलव पाँच प्रतिशत रहेको थियो । चालू आवको छ महिनामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा २० दशमलव दुई प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा छ दशमलव नौ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा छ दशमलव तीन प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा छ दशमलव नौ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा नौ दशमलव पाँच प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ११ दशमलव नौ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा ११ दशमलव पाँच प्रतिशतले, ओभरड्राफ्ट कर्जा १३ दशमलव चार प्रतिशतले, डिमान्ड तथा चालू पुँजी कर्जा १३ दशमलव छ प्रतिशतले, रियलस्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) चार प्रतिशतले, मार्जिन प्रकृति कर्जा ५० दशमलव दुई प्रतिशतले र ट्रष्ट रिसिट अर्थात् आयात कर्जा पाँच दशमलव छ प्रतिशतले बढेको छ । यस अवधिमा हायर पर्चेज कर्जा भने चार दशमलव चार प्रतिशतले घटेको छ ।