काठमाडौं ।
नबिल बैंकले भैरहवा कान्छी बजारकोे तरकारी तथा फलफूल बजारमा क्यूआर भुक्तानी सेवाको शुभारम्भ गरेको छ । सोमबार दिउसो नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय भैरहवाका निर्देशक सुदिप फुयाँलले फलफूल खरिद गरी क्यूआर कोडमार्फत भुक्तानी गरी नबिल बैंकको क्यूआर भुक्तानी सेवा सुरु गरेको बैंकले जानकारी दिएको छ । अब यस बजारमा जाने उपभोक्ताले आफ्नो मोबाइल बैंकिङ एप्लिकेसन वा मोबाइल वालेटमार्फत सजिलै खरिद गरेको तरकारी तथा फलफूलको रकम भुक्तान गर्न सक्नेछन् ।
क्यूआर कोड भुक्तानी सेवा उद्घाटनमा नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय भैरहवाका निर्देशक सुदिप फुयाँल, नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय भैरहवाका सहायक निर्देशक रमेश न्यौपाने, नबिल बैंकका लुम्बिनी प्रदेशका प्रमुख, यज्ञ प्रसाद शर्मा, नबिल बैंक भैरहवा शाखाका प्रबन्धक लिलाप्रसाद ओझा, नबिल बैंकका लुम्बिनी प्रदेशका प्रदेश प्रबन्धक मधुजंग कार्की र उक्त बजार व्यवस्थापन समितिका अध्यक्ष दिपक सहानीको उपस्थिति रहेको थियो ।
उद्घाटनमा नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यलय भैरहवाका निर्देशकले विभिन्न तरकारी तथा फलफूल पसलको अवलोकन र निरीक्षण गरेपछि केही पसलमा खरिद गरी आफ्नो मोबाइल बैंकिङको क्यूआर कोडमार्फत भुक्तानी सेवा सुरुवात गरेका थिए । नगद तथा डेबिट र क्रेडिट कार्डको विकल्पमा क्यूआर कोड भुक्तानी छिटो र झन्झटमुक्त छ ।