काठमाडौं ।
मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले नयाँ नियुक्त भएका कर्मचारीहरूलाई दुई दिने लघुवित्त व्यवस्थापनसम्बन्धी अभिमुखीकरण तालिम दिएको छ । नवनियुक्त कर्मचारीहरूलाई शाखामा पठाउनुभन्दा पहिले सामाजिकीकरण गराउने र लघुवित्तसम्बन्धी कामहरू तथा नीति नियमको बारेमा जानकारी दिने उद्देश्यले अभिमुखीकरण तालिम राखिएको संस्थाले जनाएको छ । त्यस्तै संस्थाले १० नयाँ शाखा विस्तार गरेको छ ।
तालिमको समापन समारोहमा संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले यस किसिमको तालिमले नवनियुक्त कर्मचारीहरूको कार्यकुशलता बढ्ने र कर्मचारीले यस्ता तालिमबाट आफूले सिकेको कुरा प्रयोगमा ल्याउनुपर्ने बताए । त्यस्तै संस्थाले कर्मचारीको सीप विकास तथा तालिमको लागि अभिमुखीकरण तथा बैंकिङ तालिम कार्यक्रम गर्दै आएको तथा यस्ता कार्यक्रमले कर्मचारीको आत्मविश्वासमा समेत वृद्धि गरी संस्थाको प्रतिनिधित्व गर्न थप ऊर्जा प्रदान गर्ने बताए ।
कार्यक्रममा सहभागी कर्मचारीहरूले तालिम निकै फलदायी भएको र उक्त अभिमुखीकरण तथा बैंकिङ तालिममा सहभागी हुँदा सबैसँग चिनजान गर्ने मौका र काम गर्न हौसला मिलेको बताएका थिए । दुईदिने अभिमुखीकरण तालिममा नवनियुक्त ६२ जना कर्मचारी सहभागी भएका थिए । तामिलको सहजीकरण कर्जा तथा जोखिम विभाग प्रमुख शेरबहादुर गुरुङ, योजना तथा तालिम विभाग प्रमुख उमेशमान डंगोल र जनशक्ति तथा प्रशासन विभागका अधिकृत रामकुमार सुवेदीले गरेका थिए ।