काठमाडौं ।
राजस्व अनुसन्धान विभागले पछिल्लो ३३ महिनामा ३६ अर्ब ६१ करोड रूपैयाँ राजस्व चुहावट गर्ने सात सय ८० जनाविरुद्ध मुद्दा दायर गरेको छ । विभागका महानिर्देशक दीर्घराज मैनालीले आफूले विभागमा ३३ महिना काम गर्दा राजस्व चुहावटतर्फ दुई सय २० वटा मुद्दामा सात सय ८० जना प्रतिवादी बनाई ३६ अर्ब ६१ करोड बिगो मागदाबी लिई अदालतमा मुद्दा दायर गरेको जानकारी दिए ।
यस्तै सात अर्बभन्दा बढी बिगो कायम भएका १७ वटा मुद्दाहरू राय निर्णयको लागि सरकारी वकिल कार्यालय पठाई अभियोजनको क्रममा रहेको र अन्य थुप्रै मुद्दाहरू अनुसन्धानको क्रममा रहेको उनले बताए । उनका उनुसार विदेशी विनिमय अपचलनतर्फ चार सय ४० जनालाई प्रतिवादी बनाई १० अर्ब ७२ करोड बिगो असुल गर्न मागदाबी लिई मुद्दा दायर गरिएको छ । मूल्य अभिवृद्धि करका झुटा तथा नक्कली बिजकबाट ठूलो परिमाणमा करछली गर्नेमाथि गम्भीर ढंगले अनुसन्धान गरी १९ अर्बभन्दा बढीको मागदाबी लिई एक सय ६० वटा मुद्दा दायर गरिसकिएको उनले बताए ।
राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ मा समयानुकूल परिमार्जन गरी अनुसन्धान तथा अभियोजन र न्याय निरूपण प्रभावकारी हुने व्यवस्था गरिएको छ । अनुसन्धान कार्यलाई सूचना, प्रमाण, प्रविधि र ज्ञानमा आधारित बनाउने पद्धति अवलम्बन गरिएको छ । व्यावसायिक पारदर्शिता कायम गर्ने, स्वस्थ प्रतिस्पर्धालाई प्रवद्र्धन गर्ने, राजस्व चुहावट नियन्त्रण गरी कराधारको व्यापक विस्तार गर्न वेबमा आधारित भीसीटीएस २०७६ साउन १ गतेबाट सुरु भएको र यसमा हालसम्म एक लाख १३ हजार प्रयोगकर्ता बनिसकेको उनले जानकारी दिए ।
यस्तै ४१ खर्बभन्दा बढीको सूचना संग्रह भएको उनको भनाइ छ । उनका अनुसार एक करोड ५० लाखभन्दा बढी बिलबिजक, प्रज्ञापनपत्र र चलान प्रणालीमा प्रवृष्ट भएका छन् । आफ्नो कार्यकालमा नै व्यावसायिक प्रयोजनका मालवस्तु ढुवानी गर्नुपूर्व ढुवानी साधन र मालवस्तुको संक्षिप्त विवरण भीसीटीएसमा प्रवृष्टि गर्नुपर्ने व्यवस्था गरिएको उनले बताए । भीसीटीएस पालना नगर्नेमाथि अनुगमन बढाइएको र यसबाट राजस्व छली नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह भएको उनको भनाइ छ । ३३ महिना विभागको नेतृत्व गरेका मैनाली बुधबार विभागबाट बिदा भएका छन् ।