काठमाडौं ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त, दुरूस्त तथा सहज बनाउने उद्देश्यका साथ ट्राफिक स्वयंसेवक परिचालन गरेको छ । महाशाखा र राष्ट्रिय युवा परिषद्को समन्वयमा विभिन्न कलेजका दुई सय जना विद्यार्थीहरूलाई ट्राफिक महाशाखामा शिक्षण गरी काठमाडौँका विभिन्न चोक जक्सन, आकासेपुल र जेब्राक्रसिङमा परिचालन गरिनेछ । महाशाखाले स्वयंसेवकलाई १० दिनसम्म उपत्यकाका विभिन्न सवारी चाप हुने स्थानमा परिचालन गर्ने जनाएको छ ।
काठमाडौँ उपत्यकाको सवारी चाप हुने तथा बढी पैदलयात्रु भीडभाड हुने स्थानमा सहज र सुरक्षित आवागमन गर्ने लक्ष्यसहित ट्राफिक स्वयंसेवक परिचालन गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बताए । यसअघि महाशाखाले नेपाल स्काउट, सामुदायिक सेवा केन्द्रका युवा विद्यार्थीहरूलाई समेत प्रशिक्षण दिई विभिन्न चरणमा ट्राफिक स्वयंसेवक परिचालन गरिएको र त्यसको प्रभावकारितासँगै यसलाई निरन्तरता दिएको बताएको छ ।