नयाँ दिल्ली ।
भारत सरकारले अप्रिल १ देखि लागू हुने गरी सबै कारमा यात्रु साइडमा पनि एयरब्याग हुनैपर्ने नियम लागू गर्ने भएको छ । बढ्दो सडक दुर्घटनालाई मध्यनजर गर्दै मोदी सरकारले यस्तो निर्णय गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भारतको सडक यातायात तथा राजमार्ग मन्त्रालयले नयाँ नियमको घोषणा गरेको बताइएको छ । नियमअनुसार ड्राइभरपट्टि मात्रै नभई अगाडि बस्ने यात्रु साइडमा पनि एयरब्याग हुनुपर्नेछ । यसको मतलब अब कारमा डुअल एयरब्याग अनिवार्य गरिएको छ । योसँगै कार कम्पनीहरुले अब डुअल फ्रन्ट एयरब्यागको मापदण्डमा ध्यान दिनुपर्नेछ । अहिले भएका कारहरुमा पनि ३१ अगष्ट २०२१ देखि डुअल एयरब्याग राखेर बेच्नुपर्नेछ ।
सुरक्षालाई ध्यानमा राख्दै यस्तो सूचना अग्रिम रुपमा जारी गरिएको बताइएको छ । यो नियमसँगै कारहरुको मूल्यमा समेत फेरबदल हुनसक्ने बताइएको छ । सबै कारहरुमा एआईएस १४५ मापदण्ड पूरा भएको एयरब्याग जडान गर्नुपर्नेछ ।