काठमाडौं ।
नेपाल बैंकले ताप्लेजुुङका अग्निपीडितलाई रकम सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक ताप्लेजुङ जिल्लाको दोभान बजारका अग्निपीडितहरूलाई पाँच लाख रुपैयाँ सहयोग गरेको हो । ताप्लेजुुङ जिल्लाको दोस्रो व्यापारिक केन्द्र दोभान बजारमा यही फागुुन १८ गते लागेको भीषण आगलागीमा परी ५२ वटा घर र घरसँगै मालसामानहरू जलेर नष्ट भएको थियो । उक्त घटनाबाट पीडित भएका घरपरिवारहरूले दामासाहीले पाउनेगरी पाँच लाख रुपैयाँ रकम सहयोग गरिएको बैंकले जनाएको छ ।
बैंकले हाल ६९ वटा जिल्लामा दुई सय पाँचवटा शाखाहरू, ४१ वटा एक्सटेन्सन काउन्टर र एक सय ४४ वटा एटीएममार्फत वित्तीय कारोबार सञ्चालन गर्दै आएको छ । आगमी आर्थिक वर्षमा सबै जिल्लाहरूमा शाखा पु-याउने लक्ष्यका साथ अगाडि बढेको बैंकले जनाएको छ । बैंकले चालू आर्थिक वर्र्षको दोस्रो त्रैमासिक अवधिमा एक अर्ब ३५ करोड चार लाख २३ हजार एक सय एक रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा एक अर्ब ३५ करोड २३ लाख ९६ हजार आठ सय ६३ रुपैयाँ रहेको थियो ।
चुक्ता पुँजी १२ अर्ब ६३ करोड ६७ लाख ५८ हजार छ सय २४ रुपैयाँ रहेको बैंकले चालू आवको दोस्रो त्रैमासिक अवधिमा एक खर्ब ४८ अर्ब ९९ करोड ४८ लाख ६८ हजार आठ सय १९ रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब १६ अर्ब ६१ करोड छ लाख ७० हजार आठ सय आठ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा दुई अर्ब ९७ करोड १३ लाख ९८ हजार सात सय ८८ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा दुई दशमलव ८८ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
यस अवधिमा चार दशमलव ३९ प्रतिशतको स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने ६७ करोड ८२ लाख पाँच हजार छ सय ७७ रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा भने बैंकले एक खर्ब ४१ अर्ब ५३ करोड तीन लाख ८० हजार पाँच सय ६९ रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब तीन अर्ब ३० करोड ३७ लाख ५२ हजार चार सय ५८ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा दुई अर्ब ७४ करोड ५० लाख ७९ हजार सात सय आठ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा दुई दशमलव ६६ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेड दर भने चार दशमलव ४४ प्रतिशत रहेको थियो ।