काठमाडौं ।
ग्लोबल आईएमई बैंक लिमिटेडले विभिन्न आठ नयाँ स्थानमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकका अनुसार इलामको नेपालटार, सिराहाको बन्दीपुर, रसुवाको थुमन, तनहुँको टुहुरे पसल, कैलालीको मिलनचोक, लमजुङको कोइरालाफाँट, बाँकेको सिमलघारी र अर्घाखाँचीको रतनमारेमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याइएको हो ।
यी शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या दुुई सय ५३ पुगेको छ । बैंकले इलामको इलाम नगरपालिका वडा नं. १, नेपालटार, सिराहाको कर्जन्हा नगरपालिका वडा नं. २, बन्दीपुर, रसुवाको गोसाइँकुण्ड गाउँपालिका वडा नं. १, थुमन, तनहुँको भानु नगरपालिका वडा नं. ११, टुहुरे पसल, कैलालीको जानकी गाउँपालिका वडा नं. ७, मिलनचोक, लमजुङको सुन्दर बजारन गरपालिका वडा नं. १०, कोइरालाफाँट, बाँकेको खजुरा गाउँपालिका वडा नं. ६, सिमलघारीर अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नं. ६, रतनमारेमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएका छन् ।
शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले स्थानीय प्रतिनिधिमार्फत बैंकिङ सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको ब्याज भुक्तानी गर्ने, डिस होम, सीडीएमए, यूटीएल, एनटीसीको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्नेलगायतका सेवा लिन सक्नेछन् । कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि बैंकले ती स्थानहरूमा शाखारहित बैंकिङ सेवा सुरु गरेको हो ।
बैंकले मुलुकभर तथा मुलुकबाहिर बैंकिङ सेवाको पहुँच पु-याउने उद्देश्यले सातवटै प्रदेश तथा ७५ जिल्लामा दुई सय ७० वटा शाखा, दुई सय ४२ वटा एटीएम, दुई सय ५३ वटा शाखारहित बैंकिङ सेवा, ४७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीन वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी आठ सयभन्दा बढी सेवा केन्द्रबाट ग्राहकवर्गलाई सेवा प्रदान गरिरहेको छ । सबैका लागि बैंक भन्ने नाराका साथ बैंकले २२ लाखभन्दा बढी ग्राहकहरूमाझ सेवा प्रदान गर्दै आइरहेको जानकारी दिएको छ । बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा दुई अर्ब ३१ करोड ५१ लाख १८ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा एक अर्ब ६८ करोड ५९ लाख आठ हजार रुपैयाँ रहेको छ ।
हाल चुक्ता पुँजी २१ अर्ब ६३ करोड २५ लाख तीन हजार रुपैयाँ रहेको बैंकले चालू आवको दोस्रो त्रैमासिक अवधिमा दुई खर्ब ३४ अर्ब ४१ करोड २३ लाख २५ हजार रुपैयाँ निक्षेप संकलन गरी दुई खर्ब ७८ करोड ९७ लाख ६७ हजार रुपैैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा चार अर्ब ७७ करोड १८ लाख ५४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ७२ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । यस अवधिमा चार दशमलव ६९ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भचने एक अर्ब ४३ करोड २० लाख ४६ हजार रुपैयाँ रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले दुई खर्ब १२ अर्ब ३१ करोड ५३ लाख ८५ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ९० अर्ब ३३ करोड ६८ लाख ५३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा तीन अर्ब ५४ करोड ८६ लाख ९८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव २० प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर पाँच दशमलव ३१ प्रतिशत रहेको थियो ।