काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनालाई विवादमा तान्ने काम गर्नु अनुचित भएको बताएका छन् । राष्ट्रिय सुरक्षा परिषद्को २०औं वार्षिक उत्सवका अवसरमा बुधबार आयोजित कार्यत्रममा उनले आफ्ना संकीर्ण स्वार्थका लागि नेपाली सेनालाई अनावश्यक ढंगले विवादमा तान्न खोज्ने, अपमान वा प्रोभोक गर्न खोज्नेलगायत विभिन्न खालमा प्रवृत्तिहरू देखिएको बताए । नेपाली जनताको चेतनालाई समय–समयमा अलमल्याउन खोज्ने, भ्रममा हाल्न खोज्ने प्रयास समेत हुनेगरेको भन्दै उनले त्यस्ता प्रयासहरूसँग सतर्क हुन आग्रह गरे ।
विगत दुई दशकमा सुरक्षा परिषद्ले आफ्ना सैद्धान्तिक, नीतिगत पक्षमा स्पष्टता र व्यावहारिक अनुभव पनि हासिल गर्दै गएकाले सुरक्षा नीतिसम्बन्धी अन्योलको स्थितिबाट बहुतै स्पष्टताको स्थितिमा पु-याएको उनको भनाइ थियो । ठूलो, सानो, बलियो, कमजोर सबै देशले आफ्ना सन्य शक्ति प्रभाव विस्तारमा नभई न्यायोचित हकको रक्षामा प्रयोग गर्नुपर्ने उनले बताए । नेपाल विश्वव्यापी र सार्वकालिक ढंगले सही सिद्धान्त, सही नीति र सही व्यवहारमा रहेको उनको दाबी थियो ।
‘हामी हाम्रो प्रतिरक्षा र हाम्रो सुरक्षा, सबै कुरालाई शक्तिको आडमा होइन न्यायको आडमा, सत्यको आडमा स्थापित गर्न चाहन्छौँ र गछौँ’, उनले भने । नेपाली सेनासहित राज्यका सबै अवयवहरूको समुचित प्रयोग कस्तो कस्तो परिस्थिति कुन–कुन ढंगले गर्न सकिन्छ भन्ने कुरामा सुरक्षापरिषद्ले गृहकार्य गर्न सक्ने पनि उनले बताए । नेपाली सेनाले आपत्कालीन उद्धार र प्रकोप व्यवस्थापनमार्फत जनसेवा, विकास निर्माण र सुरक्षाजन्य गरी तीनै वटै प्रकृतिका कामहरूलाई कसरी समूचित ढंगले र व्यवस्थिति ढंगले अगाडि लान सक्छ भन्ने कुरामा अध्ययन अनुसन्धान र नीति निर्माणको काम गरिनुपर्ने उनको भनाइ थियो ।
गौरवपूर्ण इतिहास रहेको नेपाली सेनाले अहिले विदेशका विभिन्न भागमा शान्ति स्थापनार्थ आफूलाई जोखिममा राखेर काम गरेको बताउँदै उनले कतै मानवीय कमजोरी यसबीचमा भए त्यस्ता कुरा हेर्ने अलग निकाय रहेको समेत उल्लेख गरे । राष्ट्रिय सुरक्षापरिषद् स्थापना भएको समय मुलुकमा हिंसाको ग्राफ बढ्दो क्रममा रहेको स्मरण गराउँदै प्रधानमन्त्री ओलीले अहिले आइपुग्दा मुलुकमा पूर्ण शान्ति कायम भएको समेत बताए । गत वर्ष विखण्डनवादी सोचका साथ गतिविधि गरिरहेको समूहलाई र हालै मात्र सशस्त्र राजनीतिक गतिविधिको कार्यक्रम लिएर हिँडेको समूहलाई राष्ट्रिय राजनीतिको मुलधारमा आउनु परिषद्का लागि समेत सुखद पक्ष भएको उनको भनाइ थियो ।