अमेरिका ।
गोल्डम्यान स्याक ग्रुपले अश्वेत महिलालाई सहयोग गर्ने हेतुले आगामी १० वर्षमा १० अर्ब अमेरिकी डलर खर्च गर्ने भएको छ । अश्वेत महिलाको स्वास्थ्यसेवा, रोजगारी सिर्जना र शिक्षाजस्ता क्षेत्रमा उक्त रकम खर्च गरिनेछ । बैंकको ‘१० लाख अश्वेत महिला’ इनिसिएटिभअन्तर्गत सन् २०३० सम्म १० लाख महिलाको जीवनमा प्रभाव देखिने गरी उक्त सहयोग खर्च गर्नलागिएको कम्पनीले जनाएको छ ।
गत वर्ष अमेरिकामा अफ्रिकी मूलका अमेरिकी जर्ज फ्लोएडको प्रहरी दमनका क्रममा मृत्यु भएपछि ठूलै विरोध भएको थियो । उक्त घटनापछि ठूला कम्पनीहरुले नीतिगत परिवर्तन गर्दै नश्लीय वैविध्यको प्रवर्द्धन गर्दै नागरिक अधिकार समूहहरुलाई रकम दान गर्ने प्रतिबद्धता जनाएका थिए ।
गोल्डम्यान स्याकले यसका अतिरिक्त १० करोड अमेरिकी डलर अफ्रिकी अमेरिकी महिलाले सञ्चालन गरेका व्यावसायिक उपक्रममा दान गर्ने समेत जनाएको छ । अश्वेत महिलाका लागि आम्दानीको खाडल पुर्न गरिनलागेको यस्तो सहयोगले १२ देखि १७ लाख रोजगारी अमेरिकामा सिर्जना हुने कम्पनीले एक अनुसन्धानलाई देखाउँदै जनाएको छ ।
गोल्डम्यानले गत वर्ष जातीय समानतालाई प्रवर्द्धन गर्न एक करोड डलरको कोष खडा गरेको थियो । त्यस्तै उसले २० करोड डलर हाराहारीमा बितेको दशकमा विभिन्न संगठनहरुलाई सहयोग गरेको जनाएको छ । नयाँ परियोजनाको एडभाइजरी काउन्सिलमा वालग्रिन बुट्सका प्रमुख कार्यकारी रोसालिन्ड ब्रुअर, एप्पल इन्कका वातावरण, नीति र सामाजिक इनिसिएटिभकी उपप्रमुख लिसा ज्याक्सनसमेत रहने बताइएको छ । काउन्सिलमा सिभिल राइट्स ग्रुपका सीईओ मार्क मोरियल, न्यु अर्लियान्सका मेयर पनि रहने बतााइएको छ ।