बझाङ, पुस २५ एक सातासम्म लगातार वर्षात् र हिमपात भइरहेको बेला पनी बझाङ मष्टा गाउँपालिका स्थानीय भुव खेलिरहेका छन् । अहिले पनि जिल्लामा निरन्तर हिमपात भइरहेको छ तर पनि स्थानीयहरुमा भुव पर्वको उल्लास छ । गत पुस ९ गतेदेखि सुरू भएको भुव पर्व पुस महिनाभर मनाइने स्थानीय सन्तोष धामीले बताए । मुखियाको घरबाट पाँच पान्डपको दियो बाली राँको सल्काएपछि मात्र भुव पर्व सुरू भएको मानिन्छ भने भुवाखाडामा अन्तिम दिन खसीको बली दिएर भुव सेलाएको मान्ने चलन छ । गाउँका तन्देरी बूढापाकाले हातमा ढाल, तरवार समाती कौरव र पाण्डवको लडाइँको स्मरण गरी पुस महिनामा प्रत्येक वर्ष भुव पर्व मनाउने गर्छन् । हिउँदको समयमा केही पनि काम नभएकाले बिहे गरेर गएका चेलीबेटी पनि भुव हेर्ने माइती घर आउने चलन रहेको छ ।