काठमाडौं, पुस २५
नेपाल क्लियरिङ्ग हाउसले मासिक कारोबार सीमामा थप गरेको छ । उक्त कम्पनीले आफूले सञ्चालन गर्दै आएको कनेक्ट आईपीएस इ–पेमेन्ट प्रणालीको मोबाइल एप्लिकेसन सीमालाई विद्यमान कारोबार सीमा एक लाखबाट वृद्धि गरी यही पुस २१ बाट लागू हुने गरी दुुई लाख कायम गरेको हो । नेपाल राष्ट्र बैंकद्वारा प्रकाशित भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन २०७६ को निर्देशनबमोजिम मासिक कारोबार सीमा थप गरिएको र प्रतिकारोबार सीमा ५० हजार नै कायम रहेको कम्पनीले जानकारी दिएको छ । कनेक्ट आईपीएसको वेबसाइटबाट गरिने कारोबारको सीमाप्रति कारोबार १० लाख र प्रतिबैंक मासिक ५० लाख यथावत् नै रहेको समेत कम्पनीले जनाएको छ । कनेक्ट आईपीएसको प्रणाली अनलाइन भुक्तानीको एकीकृत प्ल्याटर्फम हो ।
यसमा अनलाइन फण्ड ट्रान्सफर, पेमेन्ट प्रोसेसर (गेटवे), क्रेडिट कार्ड/बिल भुक्तानी लगायतका सुविधा उपलब्ध छन् । कम्पनीका अनुुसार यो प्ल्याटर्फममा सदस्य बैंकहरुका ग्राहकहरूका लागि अन्य सेवाहरुमा सरकारको राजस्व भुक्तानी, लोकसेवा आयोग आवेदन शुल्क भुक्तानी, कम्पनी रजिष्ट्रार कार्यालयको भुक्तानी, राहदानी शुल्क भुक्तानी, नागरिक लगानी कोषको भुक्तानी, सामाजिक सुरक्षा कोष सम्बन्धी भुक्तानी, मोबाइल वालेटमा फण्ड लोड, नेप्से अनलाइन ट्रेडिङ्ग तथा सेयर ब्रोकरलाई भुक्तानी, ट्राभल एजेन्सी भुक्तानी, स्कुल÷कलेज, इन्स्योरेन्स भुक्तानी, आदिगर्न सकिने व्यवस्था रहेको छ । थप गरिएको कारोबार सीमाले बैंक तथा वित्तीय संस्थाका ग्राहकहरूलाई बैंक खाताबाट गरिने डिजिटल भुक्तानी कारोबार गर्न थप सुविधा हुने अपेक्षा गरिएको कम्पनीले जानकारी दिएको छ ।