काठमाडौं ।
राष्ट्रिय गौरवका आयोजनादेखि विभिन्न आयोजनासम्ममा काम गर्नका लागि दक्ष विदेशी श्रमिक नेपाल आउने गरेका छन् । यसरी नेपालका विभिन्न आयोजनामा काम गर्न आउने दक्ष विदेशी श्रमिकहरुमा सबैभन्दा बढी इन्जिनियर रहेको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले जानकारी दिएको छ ।
विभागका निर्देशक मणिनाथ गोपले मुलुकभर जति पनि ठूला आयोजनाहरु सञ्चालन भएका छन्, ती आयोजनाहरुमा विदेशी कामदार रहेका छन् र त्यसमा पनि इन्जिनियरहरुको संख्या धेरै रहेको छ । ‘माथिल्लो तामाकोशीदेखि गौतमबुद्ध विमानस्थल निर्माणलगायतका आयोजनाहरुमा दक्ष विदेशी कामदारहरु कार्यरत छन्’, उनले भने, ‘ती आयोजनाहरुमा इन्जिनियरका साथै प्रविधिज्ञका रुपमा विदेशी नागरिकले काम गर्ने भन्दै विभागबाट श्रम स्वीकृति लिएका छन् ।’
निर्देशक गोपले फरक संस्थाअनुसार शिक्षक, चिकित्सक, पाइलटलगायतका विदेशी नागरिक आउने गरेको भए पनि बढी मात्रामा भने इन्जिनियर रहेको बताए । विभागका अनुसार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि गत साउनमा २५ जना चिनियाँ कामदार नेपाल आएका छन् भने यसरी विभिन्न आयोजनामा काम गर्ने भन्दै करिब साढे पाँच सय विदेशीले श्रम स्वीकृति समेत लिएका छन् ।
विभागका अधिकारी मोहन ज्ञवालीले आयोजना तथा रोजगारदाताले आवश्यकताअनुसार विदेशी कामदारको माग गर्ने गरेको बताए । ‘रोजगारदाताले विदेशी कामदार ल्याउन पहल गर्छ, त्यसमा हामीले आवश्यक रीत पु-याएसँगै श्रम स्वीकृति प्रदान गर्छौं’, अधिकारी ज्ञवालीले भने, ‘रोजगारदाताले ठूलो संख्यामा विदेशी कामदार ल्याउनुपर्दा भने सरोकारवाला निकायहरुसँग सम्झौता गरी अघि बढ्नुपर्छ ।’
नियमअनुसार रोजगारदाताले आवश्यक विदेशी कामदारको विज्ञापन गरी पाँच प्रतिशत विदेशी कामदार ल्याउन सक्नेछ भने बाँकी आवश्यक कामदार भने सरोकारवाला सरकारी निकायसँग सम्झौता गरी अघि बढ्नुपर्ने हुन्छ । यस्तै विभागले नेपाल आउन चाहने विदेशी श्रमिक समेत उल्लेखनीय रहेको जनाएको छ । ‘दक्ष विदेशी नागरिकलाई मात्र रोजगारदाताले ल्याउने तथा आकर्षक सेवा सुविधाका साथ ल्याउने हुँदा उनीहरु नेपाल आउन चाहन्छन्’, ज्ञवालीले भने, ‘अर्को कुरा भनेको मुलुकमै दक्ष जनशक्ति नहुँदा विदेशी ल्याउनुपर्ने बाध्यात्मक स्थिति समेत रहेको छ ।’
विभागका अनुसार चालू आर्थिक वर्षको बिहीबारसम्ममा मात्रै एक हजार चार सय ३७ जना विदेशी नागरिक नेपालमा काम गर्न भन्दै श्रम स्वीकृति लिएका छन् । सो समयमा चीन, भारत, अमेरिका, बेलायतदेखि लिएर अफ्रिकन मुलुक युगान्डा, रुवान्डा गरी ६० वटा मुलुकबाट सो संख्यामा विदेशी कामदार नेपाल आएका हुन् । बिहीबारसम्ममा नयाँ श्रम स्वीकृति लिएर आउने महिला ५५ जना र पुरुष पाँच सय २५ जना छन् भने श्रम स्वीकृति नवीकरण गर्ने महिला एक सय २५ जना र पुरुष सात सय ३२ जना रहेको विभागले जनाएको छ ।
विदेशी कामदारका लागि रोजगारीको दृष्टिकोणमा नेपाल आकर्षण नहुनसक्ने विभागका अधिकारीहरुको तर्क छ । रोजगारीको आकर्षणभन्दा पनि यहाँ पाइने हावापानी, कला संस्कृतिले भने विदेशीहरुलाई आकर्षित गर्ने गर्छ विभागका एक अधिकारीले भने यसलाई कसरी प्रमाणित गर्न सकिन्छ भने एकपटक आएको विदेशी श्रम स्वीकृति नवीकरण गरी नेपालमा लामो समय बस्ने गरेको पाइन्छ ।
नेपालमा आउने विदेशी कामदारको हकमा भने भारतीयहरुलाई श्रम स्वीकृति अनिवार्य छैन तर पनि दक्ष व्यक्तिहरुले भने श्रम स्वीकृति लिने गरेको पाइन्छ । यस्तै पछिल्लो समय चीनले भने आफनो विभिन्न आयोजनामा दक्ष र अदक्ष दुवै कामदार ल्याउने गरेको पाइन्छ ।
कलंकी–कोटेश्वर चक्रपथ खण्डको निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी संघाई कन्स्ट्रक्सनले सडक निर्माणको क्रममा दक्ष/अदक्ष कामदारलाई परिचालन गरेको थियो । आयोजनाका साथै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (एनजीओ/आईएनजीओ) हरुमा समेत विदेशी नागरिकहरुले नेपालमा कर्मथलो बनाई काम गरेको पाउनसक्छौँ भने यसका साथै शिक्षण, चिकित्सकलगायतका पेशामा समेत आबद्ध भएको पाउन सकिन्छ ।