काठमाडौं ।
ग्रिन कफीले कुनै साइड इफेक्टविना साताको १३ किलो वजन तथा मोटोपन घटाउने भन्दै ठगी गर्ने गरेको पाइएको छ । प्रहरीले ग्रिन कफीले मोटोपन घटाउँछ भन्दै ठगी गरेको अभियोगमा एक विदेशीसहित दुई जनालाई पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–१७ खुसिबु नयाँबजारबाट प्रहरीले कास्की पोखरा महानगरपालिका–१९ ठेगाना भएका टिम वान सप्लायर्स प्रालिका सञ्चालक ४२ वर्षीय आशिष आचार्य र राहदानी नम्बर ७५२६६५८५७ वाहक रसियन नागरिक ३० वर्षीय ईगोर कुट्सलाई बिहीबार पक्राउ गरेको हो । उनीहरुले ग्रिन कफीले साताको १३ किलो वजन तथा मोटोपन घटाई शरीरलाई फाइदा हुने अचम्मको विधि पत्ता लगाएको भन्ने विज्ञापन तथा सामाजिक सञ्जालमा प्रचारप्रसार गरेका थिए ।
उक्त भ्रामक सूचना फैलाई बिक्रीवितरण गरी रहेको सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले उक्त सप्लायर्सबाट छ सय ४४ किलो हरियो कफी, तयारी अवस्थामा राखिएका सय ग्रामका दुई हजार आठ सय २२ प्याकेट हरियो कफी, एक सय १४ थान विभिन्न बाकस, २५ थान ल्यापटप, दुई थान सीपीयू, रसियन नागरिक इगोर कुट्सको दुई थान राहदानी प्रहरीले बरामद गरेको छ । साथै इगोर कुट्सको कोठाबाट तीन लाख ९७ हजार नेपाली रुपैयाँ, बिटक्वाइन माइनिङसँग सम्बन्धित उपकरणहरुजस्तो देखिने सीपीयूसहितको मदरबोर्ड, चार पिस ग्राफिक्स कार्ड र हार्डडिक्स समेत प्रहरीले बरामद गरेको छ ।
उनीहरूले उक्त कफी प्रतिकिलो नौ सय ६० रुपैयाँमा नेपालकै विभिन्न भागबाट खरिद गरी करिब २० हजारदेखि ४० हजार रुपैयाँ प्रतिकिलोसम्म बेच्ने गरेको प्रहरीले जनाएको छ । उनीहरुले कार्डिटोन, डोजेक्स र क्रेटालिक्स लेखिएको सप्लिमेन्टहरु समेत नेपालमा गैरकानुनी रुपमा बेच्ने योजनामा रहेको पाइएको प्रहरीको भनाइ छ ।
प्रहरीले उक्त कम्पनीको कार्यालय तथा गोदामबाट उक्त सप्लिमेन्टहरु बरामद समेत गरेको छ । उनीहरूको नेटवर्क भारत तथा रसियामा समेत रहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । उनीहरूमाथि ठगीसम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौंबाट म्याद अनुमति लिई अनुसन्धान भइरहेको उक्त ब्युरोले जनाएको छ ।