काठमाडौं ।
नेपाल राष्ट्र बैंकले आज सोमबार पुनः १५ अर्ब ३३ करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार आज अपराह्न ३ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । यसअघि यही चैत २ गते पनि राष्ट्र बैंकले छ अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।
जारी मिति चैत १० गते मंगलबार तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउने राष्ट्र बैंकले जनाएको छ । बिक्री गरिने उक्त ट्रेजरीमध्ये ९१ दिने अवधिको नौ अर्ब तीन करोड, एक सय ८२ दिने अवधिको चार अर्ब ३० करोड र तीन सय ६४ दिने अवधिको दुई अर्ब रुपैयाँको रहेको छ । यी ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०७८ असार ८ गते, २०७८ असोज ५ गते र २०७८ चैत ८ गते तोकिएको छ । राष्ट्र बैंकका अनुसार बिक्री हुने उक्त ट्रेजरी पुरानो नवीकरणअन्तर्गत रहेको छ ।
यसअघि यही चैत २ गते पनि राष्ट्र बैंकले ९१ दिने अवधिको चार अर्ब र एक सय ८२ दिने अवधिको दुई अर्ब रुपैयाँको ट्रेजरी बिल गरेको थियो । राष्ट्र बैंकले चालू आर्थिक वर्षभित्र दुई खर्ब २५ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण लक्ष्य लिएको छ । सो अनुसार चालू आर्थिक वर्षको पहिलो चौमासिकमा ५७ अर्ब रुपैयाँको आन्तरिक ऋण उठाइसकेको राष्ट्र बैंकले चालू आवको दोस्रो चौमासिकमा पनि ५६ अर्ब रुपैयाँको आन्तरिक ऋण उठाउनेछ । ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रसहितका मौद्रिक उपकरणहरु बिक्री गरेर उक्त परिमाणमा ऋण उठाउन लागिएको राष्ट्र बैंकले जनाएको छ ।
चालू आवको दोस्रो चौमासिकमा उठाइने आन्तरिक ऋणको लागि राष्ट्र बैंकले १३ अर्ब ५० करोड रुपैयाँबराबरको ट्रेजरी बिल, ४० अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र, दुई अर्ब रुपैयाँबराबरको नागरिक बचतपत्र र ५० करोड रुपैयाँबराबरको वैदेशिक रोजगार बचतपत्र बिक्री गर्ने तयारी गरेको छ ।
यसैगरी चालू आवको तेस्रो चौमासिकमा भने राष्ट्र बैंकले एक खर्ब १२ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण उठाउनेछ । यसको लागि राष्ट्र बैंकले ४९ अर्ब ५० करोड रुपैयाँबराबरको ट्रेजरी बिल, ६० अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र दुई अर्ब रुपैयाँबराबरको नागरिक बचतपत्र र ५० करोड रुपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्र बिक्री गर्ने तयारी राष्ट्र बैंकले गरेको छ ।