काठमाडौं ।
नेपालमा निजी क्षेत्रको लगानीबाट निर्माणकार्य सुरु हुनलागेको २१ दशमलव तीन मेगावाटको ठूलो खोला जलविद्युत् आयोजनाको लागि आवश्यक पर्ने वित्तीय स्रोत जुटेको छ । संयुक्त ऊर्जा प्रालिले निर्माण गर्न लागेको उक्त जलविद्युत् आयोजना म्याग्दी जिल्लाको रघुगङ्गा गाउँपालिकास्थित ठूलो खोलामा निर्माण हुनेछ ।
तीन अर्ब ६० करोड रूपैयाँ लागत हुने उक्त आयोजनामा नेपाल बैंक लिमिटेडको अगुवाइ रहेको विभिन्न चारवटा बैंक तथा वित्तीय संस्थाहरूको सहभागितामा बनेको कन्सोर्टियमले दुई अर्ब ५२ करोडभन्दा बढी लगानी गर्ने भएका छन् ।
उक्त लगानीसम्बन्धी सिन्डिकेटेड क्रेडिट फ्यासिलिटिज एग्रीमेन्ट (एससिएफए) सम्झौता ऋणीका तर्फबाट संयुक्त ऊर्जा प्रालिका अध्यक्ष डा. बद्री केसी र बैंकहरूका तर्फबाट नेपाल बैंक लिमिटेडका नि. नायब प्रमुख कार्यकारी अधिकृत समता पन्तले सम्झौतामा हस्ताक्षर गरेका छन् । उक्त आयोजनामा नेपाल बैंकले ७५ करोड १२ लाख ५२ हजार, राष्ट्रिय वाणिज्य बैंकले ६६ करोड, सिद्धार्थ बैंकले ६४ करोड र सनराइज बैंकले ४७ करोड रूपैयाँ लगानी गर्ने भएका हुन् । कार्यक्रममा नेपाल बैंक लिमिटेडकी नि. नायब प्रमुख कार्यकारी अधिकृत समता पन्तले बैंकले आयोजनाको आर्थिक, प्राविधिक, जोखिमलगायतका विभिन्न पक्षहरूको समग्र विश्लेषण गरी लगानी गर्ने निर्णय गरेको बताइन् ।
साथै उनले बैंकको कर्जाको सही सदुपयोग हुनेमा विश्वस्त रहेको बताइन् । यसअघि दरमा खोला जलविद्युत् आयोजना निर्माण गरी निरन्तररूपमा विद्युत्उत्पादन भइरहेकोे हुँदा उनीहरूको कार्यको जाँच भइसकेको भन्दै उनले यो आयोजना पनि तोकिएको समय तथा लागतमा पूर्ण हुने विश्वास गरिन् । सम्झौता कार्यक्रममा डेभलपर संयुक्त ऊर्जा प्रालिका अध्यक्ष डा. बद्री केसीले आयोजनाको निर्माणकार्यलाई चुस्त दुरुस्त पारी नमूनाको रूपमा कम समय र लागतमा निर्माण गर्ने बताए ।