काठमाडौं ।
गृह मन्त्रालय र अन्तर्गतका निकायहरूमध्ये बेरुजु फर्छ्यौट मापनको वर्गीकरणमा आव २०७६/०७७ मा नेपाल प्रहरी सर्वोत्कृष्ट बनेको छ । प्रहरीले ९५ दशमलव ४६ प्रतिशत बेरुजु फर्छ्यौट गरी बेरुजु फर्छ्यौट प्रगतिमा सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल भएको हो ।
गृह मन्त्रालयमा आइतबार आयोजित कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई नेपाल प्रहरीले सर्वोत्कृष्ट स्थान हासिल गरेकोमा नगद १० हजार रूपैयाँ पुरस्कारसहित प्रंशसापत्र समेत प्रदान गरेका छन् । उक्त अवसरमा गृहमन्त्री थापाले पुरस्कृत पदाधिकारीहरूलाई बधाई दिँदै पुरस्कारले थपेको जिम्मेवारी र चुनौतीलाई सहर्ष स्वीकार गरी आगामी दिनमा अझै सक्रिय भई काम गरी सफलता हासिल गर्ने अपेक्षा रहेको बताए । देशको समृद्धि तथा विकास, सुशासन, नागरिकको आकांक्षा र सरकारले आह्वान गरेको समृद्ध नेपाल र सुखी नेपालीको अपेक्षा पूरा गर्न लाग्नेतर्फ तत्पर हुनुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा गृह सचिव महेश्वर न्यौपानेले पुरस्कृत भएपछि जिम्मेवारी थपिएको अन्तरआत्माबाट मनन गरी अझै उत्तरदायी भएर काम गर्ने बताए । बेरुजु फर्छ्यौटमा अझै समर्पित भएर काम गरी बेलाबेलामा समीक्षा गर्नुपर्नेमा उनले जोड दिए । प्रहरी प्रधान कार्यालय र अन्तर्गतका कार्यालयहरूको २०७६ साउनदेखि २०७७ असार मसान्तसम्म ९० प्रतिशत बेरुजु फछ्र्यौट गर्ने वार्षिक लक्ष्य रहेकोमा नेपाल प्रहरीको तर्फबाट कुल कायम बेरुजुमध्ये लक्ष्यभन्दा बढी ९५ दशमलव ४६ प्रतिशत फछ्र्यौट गरी हालसम्मकै सर्वोत्कृष्ट स्थान हासिल गर्न नेपाल प्रहरी सफल भएको हो ।
आगामी दिनमा समेत यसरी नै निर्दिष्ट लक्ष्यअनुसार बेरुजु फर्छ्यौट कार्यमा नेपाल प्रहरीको लगनशीलता एवं सक्रियताको अपेक्षा गरिएको प्रशंसापत्रमा उल्लेख गरिएको छ । बेरुजु फर्छ्यौट मापनको वर्गीकरणमा २०७३/०७४, २०७४/०७५ र २०७५/०७६ गरी तीन आवमा समेत नेपाल प्रहरी सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल भएको थियो ।