विराटनगर ।
सुनसरीको इटहरीमा सञ्चालन हुँदै आएको पूजा ओभरसीजमा राजस्व अनुसन्धान सुनसरीले छापा मारेपछि उक्त छापा विवादित बन्न पुगेको छ । मुकेश अग्रवालले सञ्चालन गर्दै आएको पूजा ओभरसीज पसल र उनको गोदामबाट समेत ठूलो मात्रामा कपडा बरामद गरी राजस्वले केही दिनअघि नियन्त्रणमा लिएको थियो ।
बरामद गरेको कपडा तस्कर समूहले अवैधरूपमा क्यारिङमार्फत अग्रवालको गोदामसम्म ल्याएको राजस्व कार्यालय सुनसरीले दाबी गरेको छ । तर सञ्चालक अग्रवालले उक्त कपडा विराटनगर भन्सार र कोशी ब्यारेज भन्सार नाकाबाट भन्सार जाँचपास भई आएको पाइएपछि राजस्वले व्यावसायिक प्रतिष्ठानदेखि गोदामसम्म छापा मारी व्यावसायिक वातावरण नै धमिल्याउने प्रयास गरेको आरोप लागेको छ ।
करिब एक महिनाअगाडि राजस्व अनुसन्धान सुनसरीले धरानमा सञ्चालन हुँदै आएको एक कपडा पसलमा छापा मारी कपडाको स्टोक मिलाउँदा कैफियत देखिएपछि पछिल्लो समय सुनसरीमा सञ्चालन हुँदै आएका कपडा पसलमा राजस्वले निगरानी बढाएको थियो । त्यसैलाई निरन्तरता दिँदै करिब एक हप्ताअघि राजस्वले पूजा ओभरसीजमा छापा मारेको थियो । पूजा ओभरसीजको छापा प्रकरणले राजस्व अपचलन तथा चोरी निकासीसम्बन्धी अनुसन्धान गर्ने र मुद्दा समेत चलाउन सक्ने अधिकारप्राप्त वैधानिक निकाय राजस्व अनुसन्धान समेत विवादित बन्न पुगेको हो ।
व्यावसायिक प्रतिष्ठानमा बिक्रीका लागि राखिएका कपडा बिलबिजक जारी नगरी बिक्रीवितरण भएमा आन्त्रिक राजस्व कार्यालयबाट बजार अनुगमन गरी कारबाही चलाउने कानुनी व्यवस्था रहेको छ । तर यहाँ राजस्वले आफ्नो अधिकारको दुरपयोग गरी व्यवसायिक प्रतिष्ठानदेखि गोदामसम्म छापा मारेको व्यवसायीको दाबी छ । उक्त छापा प्रकरणमा प्रमुख अनुसन्धान अधिकृत दिपक खड्का समेत विवादित बन्न पुगेको छन् । पछिल्लो समय कपडाको तस्करी सुनसरीको कोशी ब्यारेजमा रहेको नेपाल भारत नाकाबाट नै कपडाको तस्करी अत्यधिक बढेर गइरहेको छ ।
समाचारस्रोतका अनुसार कोभिड–१९ का कारण बन्द भएको नेपाल–भारतको मुख्य सीमा नाकाबाहेकका ठाउँ प्रयोग गरी पछिल्लो समय मोरङ प्रहरीले तस्करीको लाइन चलाएको भनेर आरोप लागेपछि सीमा नाकामा प्रहरीले ब्यापक कडाइ गरेको छ । मोरङमा कडाइ भएपछि सुनसरीको नाका कपडा तस्करीमा प्रयोग गर्ने क्रम बढेको बताइएको छ । विगतदेखि नै सुनसरीको दक्षिण क्षेत्रबाट क्यारिङ गर्नेले कपडाको तस्करी गर्दै आएको स्रोतको दाबी छ । यो छापा प्रकरणसँगै विवादमा आएका राजस्व अनुसन्धान इटहरीका प्रमुख दिपक खडकासँग सम्पर्क गर्न पटक–पटक प्रयास गर्दा पनि उनीसँग सम्पर्क हुन सकेन ।