काठमाडौं ।
शिखर इन्स्योरेन्सको १५औँ र १६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको आर्थिक वर्ष २०७५/०७६ र २०७६/०७७ को वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको हो । साधारणसभाले दुवै आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षण प्रतिवेदनसहितको वित्तीय विवरण पारित गरेको छ ।
यस्तै सभाले सञ्चालक समितिबाट प्रस्ताव गरिएको २०७७ असार मसान्तसम्म कायम सेयर पुँजीमा ३६ दशमलव एक प्रतिशत (आव २०७७/७८ मा बाँडफाँड गरिएको हकप्रद सेयरपछि कायम हुने सेयर पुँजीमा २७ दशमलव ७६९ प्रतिशत हुने) का दरले ३८ करोड १६ लाख ८९ हजार एक सय २७ रूपैयाँको बोनस सेयर पारित गरेको छ ।
यस्तै, सो बोनस सेयरको कर प्रयोजनार्थ २०७७ असार मसान्तसम्म कायम सेयर पुँजीमा एक दशमलव नौ प्रतिशत (आव २०७७ ७८ मा बाँडफाँड गरिएको हकप्रद सेयरपश्चात् कायम हुने सेयर पुँजीमा एक दशमलव ४६२ प्रतिशत हुने)का दरले नगद लाभांश दुई करोड ८० हजार नौ सय एक रूपैयाँ वितरणको प्रस्ताव समेत पारित गरेको छ । यस्तै साधारणसभाबाट कम्पनीको अधिकृत पुँजी वृद्धि गरी चार अर्ब पु-याउने प्रस्ताव, सोहीबमोजिम कम्पनीको प्रबन्धपत्र र नियमावली संसोधन गर्ने एजेन्डा समेत पारित भएको छ ।
प्रस्तावित बोनस सेयरपश्चात् कायम हुने कम्पनीको चुक्ता पुँजीमा संस्थापक सेयरधनीको हिस्सा ६० प्रतिशतबाट ५१ प्रतिशत र सर्वसाधारण सेयरधनीको हिस्सा ४० प्रतिशतबाट ४९ प्रतिशत पु-याई संस्थापक सेयर र सर्वसाधारण सेयरको अनुपात ५१ः४९ कायम गर्ने प्रस्ताव समेत पारित भएको छ ।
बोनस सेयरपश्चात् कायम हुने कम्पनीको चुक्ता पुँजीको ३० प्रतिशतको दरले हकप्रद सेयर जारीको प्रस्ताव समेत सभाले पारित गरेको छ । यसैगरी, साधारणसभाबाट सर्वसाधारण सेयरधनी समूह ‘ख’ का सेयरधनीबाट निर्वाचित हुने दुई सञ्चालकका लागि निर्वाचन समेत भएको छ । दिनेशबज्र बज्राचार्य र स्कन्दकुमार अमात्य यो समूहबाट सञ्चालकमा निर्वाचित भएका छन् ।