काठमाडौं ।
पशुपन्छीजन्य उत्पादनमा नेपाल आत्मनिर्भर भएको घोषणा गरिएको छ । पशुपन्छीजन्य उत्पादन मासु र अण्डा उत्पादनमा नेपाल आत्मनिर्भर भएपछि उक्त घोषणा गरिएको हो । यद्यपि दुध उत्पादनमा भने नेपाल आत्मनिर्भर हुन सकेको छैन । विश्व खाद्य संगठनका अनुसार प्रतिव्यक्ति प्रतिवर्ष ९१ लिटर दुध, ४८ अण्डा र १४ किलो मासु आवश्यक पर्ने उल्लेख छ ।
नेपालीका भान्सामा प्रतिव्यक्ति प्रतिवर्ष ५५ अण्डा र २२ किलो माछा/मासु खपत भएका कारण सरकारले बिहीबार नेपाललाई पशुपन्छीजन्य उत्पादनमा आत्मनिर्भर भएको घोषणा गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरमा आयोजित एक कार्यक्रमका बीच नेपाललाई पशुपन्छीजन्य उत्पादनमा आत्मानिर्भर भएको घोषणा गरेका हुन् । नेपालमा प्रतिवर्ष एक अर्ब ६० करोड अण्डा र दुई लाख ५५ हजार मेट्रिक टन माछा/मासु उत्पादन हुनेगरेको छ । नेपाललाई दुधमा आत्मनिर्भर बनाउन भने अझै प्रतिव्यक्ति प्रतिवर्ष १२ लिटर दुधको उत्पादन बढाउनुपर्ने छ ।
उक्त घोषणा कार्यक्रममा प्रधानमन्त्री ओलीले कृषिमा उपलब्ध अनुदान सदुपयोग गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन् । उनले दिगो कृषि विकासका लागि अनुदानको सदुयोग अनिवार्य सर्त रहेको उल्लेख गरे । सरकारले कृषिमा सस्तो ब्याज, यान्त्रीकीकरण, साना सिँचाइ आयोजना, रासायनिक मल, ढुवानी, बीमामा प्रिमियमलगायतका क्षेत्रमा अनुदान उपलब्ध गराउँदै आएको छ । प्रधानमन्त्री ओलीले कृषिको अनुदानमा कतै ‘उल्फाको धन फुपूको सराद्ध’ नबनाउन किसान, व्यवसायी तथा सम्बद्ध निकायलाई आग्रह गरे ।
सरकारले कृषि क्षेत्रमा अनुदान बढाउँदै लगेको भए पनि उत्पादन भने सन्तोषजनक रुपमा बढ्न नसकेकामा प्रधानमन्त्री ओलीले चिन्ता व्यक्त गर्दै शिक्षा र सीप विकासमा युवा जनशक्तिलाई आकर्षक कार्यक्रम चलाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिए । उनले मकैको उत्पादन घटेकामा सम्बन्धित मन्त्रालयलाई मकैको समर्थन मूल्य तोक्न र उत्पादन बढाउन तथा वनलाई कृषि वन बनाउने कार्यक्रम ल्याउन आग्रह गरे । यस्तै उनले किसानको आम्दानीलाई बचतको स्तरमा पु-याउन कृषि बीमा कार्यक्रमलाई जनस्तरसम्म पु-याउने र बीमाको किस्ता रकम (प्रिमियम) घटाउनमा जोड दिए ।
कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २७ प्रतिशत छ भने पशु तथा पशुजन्य उत्पादनमा १४ प्रतिशत छ । झन्डै ६८ प्रतिशत जनता कृषि पेसामा संलग्न भए पनि कृषि क्षेत्रको परनिर्भरता घट्न नसकेपछि सरकार कृषिमा वैदेशिक लगानी भित्र्याउने तरखरमा रहेको छ । कार्यक्रमा कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले प्रधानमन्त्री कृषि आधुनकिकीकरण परियोजनमार्फत लागू भएका पकेटक्षेत्र कार्यक्रम व्यक्तिका पकेटक्षेत्र नबनोस भन्नेमा जोड दिइन् । उनले एकीकृत कृषि शिक्षा, विषमुक्त खानेकुरा र अनिकालमुक्त परिवार सरकारका प्राथमिक क्षेत्र रहेको बताइन् ।