नयाँ दिल्ली ।
भारतीय रिजर्व बैंकका गभर्नर शक्तिकान्त दासले भारतीय बैंकिङ क्षेत्रको पुनर्संरचना गरिने जानकारी गराएका छन् । यही दशकमा भारतमा प्रतिस्पर्धी, कुशल र विविध रुपका चार फरक किसिमका बैंक बनाउनलागिएको बिहीबार दासले बताएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
टाइम्स नेटवर्क इन्डिया इकोनोमिक समिटमा बोल्दै उनले केही ठूला बैंक, केही मध्यम आकारका, साना फाइनान्स बैंक, क्षेत्रीय ग्रामीण बैंक र सहकारी बैंक हुने जानकारी दिए । साना आकारका बैंकले कम आकारको कर्जाग्राहीको आवश्यकता पूरा गर्ने उनले बताए । यस्तै उनले बैंकको अर्को श्रेणी राखेर डिजिटल सेवाव दिने इकाइ बनाउने पनि बताए ।
रिजर्व बैंकले अधिक प्रतिस्पर्धी, कुशल र भिन्न बैंकिङ संरचनाको दिशामा काम गरिरहेको उनको भनाइ छ । युनिभर्सल बैंक, स्मल फाइनान्सको लागि लाइसेन्सको नीति यसकै लागि गरिएको कदम भएको उनको भनाइ छ । अहिले १० वटा साना एसएफबी र छ भुक्तानी बैंकले काम गरिरहेका छन् । यही दशकमा फरक फरक बैंकहरु आउने दासको भनाइ छ ।
त्यस्तै ठूला बैंकहरु भने राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा काम गर्ने खालका हुने उनले बताए । त्यस्तै अर्थ व्यवस्थामा व्यापक उपस्थिति जनाउने बैंकहरु भने मध्यमस्तरका हुनेछन् । तेस्रो प्रकारका बैंकमा निजी बैंक, एसएफबी, क्षेत्रीय ग्रामीण बैंक र सहकारी बैंक हुनेछन् । चौथो प्रकारका बैंकहरु भने डिजिटल इकाइयुक्त बैंक हुनेछन् । जसले ग्राहकलाई सिधै सेवा प्रदान गर्नेछन् ।