ललितपुर ।
युवा विद्यार्थीहरूलाई सहकारीका बारेमा सचेत बनाउने उद्देश्यका साथ ६४औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर राष्ट्रिय सहकारी बैंक लिमिटेडले ६८ वटा सामुदायिक विद्यालयमा सहकारी युवा क्लब गठन गर्ने भएको हो । बैंकको वार्षिक कार्यक्रमअनुसार सबै शाखाहरूमार्फत सामुदायिक विद्यालयहरूमा अन्तरक्रिया, छलफल तथा तालिमको आयोजना गरी सहकारी युवा क्लब गठन गर्न लागिएको हो ।
बैंकका अध्यक्ष केबी उप्रेतीको अध्यक्षतामा आइतबार बसेको सञ्चालक समितिको बैंठकले ६४औं राष्ट्रिय सहकारी दिवसका अवसरमा बैंकका ६८ वटा शाखामार्फत एक/एक वटा सामुदायिक विद्यालयमा सहकारी सचेतनासम्बन्धी कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो । सहकारी दिवसका अवसरमा सबै शाखाहरूलाई एक/एक वटा विद्यालयमा सहकारी सचेतनासम्बन्धी कार्यक्रम गरी सहकारी युवा क्लब गठन गरिने अध्यक्ष उप्रेतीले जानकारी दिए ।
सहकारी बैंकको युवालक्षित कार्यक्रमअन्तर्गत युवा विद्यार्थीहरूलाई सहकारीका बारेमा सचेत बनाउने योजना बनाएका थियौँँ, बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले भने, ‘वार्षिक कार्यक्रमअन्तर्गत सहकारी दिवसको सन्दर्भ पारेर विद्यालयमा सहकारी युवा क्लब गठन गर्दै छौँ ।’
युवाहरूलाई सहकारीमा आकर्षण गराउन तथा सहकारीप्रतिको सकारात्मक धारणामा विकास गर्नका लागि सहकारी युवा क्लवहरूमा आबद्ध हुने युवा विद्यार्थीहरूलाई परिचालन गरिने उनको भनाइ छ । सहकारी युवा क्लबमार्फत विद्यालयहरूमा सहकारी सचेतना, वित्तीय साक्षरता, निबन्ध प्रतियोगितालगायत विविध रचनात्मक र सिर्जनशील कार्यक्रम गरिने बैंकले जनाएको छ । राष्ट्रिय सहकारी दिवसका अवसरमा नेपाल सरकार र सहकारी अभियानका तर्फबाट आयोजना हुने सहकारी दिवस मूल समारोहहरूमा बैंकका तर्फबाट सक्रिय सहभागिता जनाउने निर्णय पनि बैंकले गरेको छ ।
बैंकको सञ्चालक समितिको बैठकले घरेलु तथा साना उद्योग विकास उपसमिति समेत गठन गरेको छ । सहकारीमार्फत उद्योग व्यवसायको प्रवर्द्धनका लागि समन्वय तथा सहकार्य गर्नका लागि बैंकका सञ्चालक तथा वाग्मती प्रदेशका संयोजक ज्ञानबहादुर तामाङको संयोजकत्वमा उपसमिति गठन गरिएको हो ।
उपसमितिका सदस्यहरूमा बैंकका सञ्चालक एवं व्यवसाय प्रवर्द्धन तथा स्तरीकरण उपसमितिका संयोजक केदार मानन्धर, प्रदेश नं. १ बाट रुद्रमाया घिमिरे, प्रदेश नं.२ बाट खड्ग बम्जन, बागमती प्रदेशबाट रिता अवाले, गण्डकी प्रदेशबाट बलराम गौतम, लुम्बिनी प्रदेशबाट यमबहादुर थापा, कर्णाली प्रदेशबाट कृष्णावंशी मगर, सुदूरपश्चिम प्रदेशबाट पदम रिजाल तथा सदस्य सचिवमा बैंकका व्यवसाय प्रवर्द्धन विभागका प्रमुख मधु रायमाझी रहेका छन् ।