काठमाडौं ।
स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको १९औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाले बुुधबार सञ्चालक समितिका अध्यक्ष रामकुमार श्रेष्ठको अध्यक्षतामा वार्षिक साधारणसभा सम्पन्न गरेको हो । सभाले सेयरधनीलाई १९ प्रतिशत बोनस र एक प्रतिशत नगद गरी २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
संस्थाले आर्थिक वर्ष २०७६/७७ मा ३१ करोड ९१ लाख २६ हजार सात सय ९१ रुपैयाँ खुद नाफा आर्जन गरेको छ । सभाले आव २०७६/७७ को वासलात, नाफा–नोक्सान हिसाबलगायत अन्य वित्तीय विवरण समेत पारित गरेको छ ।
चालू आवको पुस मसान्तसम्म ६१ जिल्लाका एक सय ४० शाखा, उपशाखा कार्यालय तथा नौवटा इलाका कार्यालयबाट दुई लाख ४६ हजार नौ सय ८६ महिला ग्राहक सदस्यहरूलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ । सो अवधिमा वित्तीय संस्थाको लगानीमा रहिरहेको कर्जा रकम १६ अर्ब ५५ करोड २५ लाख पुगेको छ । वित्तीय संस्थाको आन्तरिक पुँजी निर्माणमा सहयोग पुग्ने सदस्यको बचत अवधिसम्ममा १० अर्ब १० करोड पाँच लाख १७ हजार रहेको छ ।
राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्थाका रूपमा कारोबार गरिरहेको र वित्तीय पहुँच कम रहेका देशका विभिन्न हिमाली तथा पहाडी ग्रामीण क्षेत्रमा कार्यक्षेत्र विस्तारको योजना साथ अगाडि बढेको संस्थाको अधिकृत पुँजी एक अर्ब रुपैयाँ छ । सभाले जारी तथा चुक्ता पुँजी ९४ करोड ३० लाख कायम गर्ने निर्णय गरेको छ । सभाले सर्वसाधारण सेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने एक जना सञ्चालकमा रामप्रसाद पाण्डेलाई निर्विरोध निर्वाचित गरेको छ ।