विराटनगर ।
नेपाल आयल निगम प्रादेशिक कार्यालय विराटनगरले करिब तीन वर्षअघि भारतीय आयल कर्पोरेशनको बरौनी डिपोबाट अत्याधुनिक चाबी र सिल लगाएर ल्याइएको ट्यांकरबाट करिब दुई हजार पाँच सय लिटर डिजेल चोरिएको घटनाको छानबिन प्रतिवदेन अझै सार्वजनिक गर्न सकेको छैन । लामो समय बितिसक्दा पनि छानबिन प्रतिवेदन सार्वजनिक नभएपछि अहिले गम्भीर प्रश्न उठ्न थालेको छ ।
आयल निगम प्रादेशिक कार्यालयले इन्धन लोड गर्न पठाएको ट्यांकरबाट इन्धन भर्ने र खन्याउने दुई स्थानमा मात्रै ताला खोल्न मिल्ने गरी बनाइएको अत्याधुनिक लकिङ प्रणालीको ताला खोलेर डिजेल चोरी भएको थियो । उक्त घटना कसरी भयो भन्ने कुरा अहिलेसम्म रहस्यमय बनेको छ । ट्यांकरबाट इन्धन चोरिने घटना नरोकिएपछि आयल निगमकै सक्रियतामा कतै पनि खोल्न नमिल्ने गरी प्रत्येक ट्यांकरमा आधुनिक लकिङ सिस्टम जडान गरिएको थियो ।
उक्त सिस्टममा रहने ताला खोल्नका लागि चाहिने दुईवटा चाबीमध्ये एउटा चाबी भारतीय आयल कर्पोरेशनको बरौनी डिपोमा र अर्को भने विराटनगरस्थित नेपाल आयल निगमको प्रदेश कार्यालयको प्रत्यक्ष निगरानीमा रहने व्यवस्था गरिएको थियो । त्यति हुँदा पनि को १ ख ५९६५ नम्बरको ट्यांकरमा नापजाँच गर्दा ८३ सेन्टिमिटर (करिब २५०० लि.) कम डिजेल पाइएपछि त्यसबेला उक्त ट्यांकरलाई कारबाही गर्दै आयल निगम केन्द्रीय कार्यालयले उच्चस्तरीय छानबिन समिति नै गठन गरेको थियो । अहिले करिब तीन वर्ष बित्नलाग्दा पनि न त ट्यांकरलाई कारबाही गरिएको छ, न त ट्यांकरका सञ्चालकलाई नै । उल्टै घटना सामसुम बनाएको भन्दै पछिल्लो समय नेपाल आयाल निगम नै आलोचित बन्न पुगेको छ ।
२० हजार लिटर क्षमताको उक्त ट्यांकर सुकदेव सिंह(ब्रअर)को नाममा रहेको छ । सिंह र उनको परिवारका नाममा ३० वटाभन्दा बढी ट्यांकर रहेको निगमको रेकर्डमा छ । सुकदेव सिंह पछिल्लो समय क्यानडामा बसोवास गर्दै छन् । उनको नाममा दर्ता कायम रहेको उक्त ट्यांकर उनकै पिता गुरुदेव सिंहले नै सञ्चालन गर्दै आएका छन् । पछिल्लो समय केही महिनाअघि फेरि गुरुदेव सिंहको नाममा दर्ता भएको ना ४ ख ५०९९ नम्बरको ट्यांकरले पनि ट्यांकरमा जडान रहेको इन्धन भर्ने नोजलको स्वरूप नै परिवर्तन गरी इन्धन बोकेको फेला परेको थियो ।
आयल निगम प्रादेशिक कार्यालयले उक्त ट्यांकरलाई कारबाही गरेपछि तीन वर्षअघिको घटनाले फेरि चर्चा पाएको हो । उक्त ट्यांकरका चालकलाई भने अदालतको आदेशपछि कारागार पठाएको निगमस्रोतले बताएको छ । तर ट्यांकर सञ्चालक गुरुदेव सिंहलाई नेपाल आयल निगमबाट कारबाही गर्नुको सट्टा उल्टै पुरस्कृत गर्नेगरेका कारण उनले सञ्चालन गर्दै आएका ट्यांकरहरूबाट पटक–पटक यस्ता घटना दोहोरिने गरेको आयल निगमस्रोतले बताएको छ ।
तीन वर्षअघि भएको उक्त इन्धन चोरी घटना छानबिनका लागि नेपाल आयल निगमकी तत्कालीन निर्देशक एवं चार्टर्ड एकाउन्टेन्ट अन्जना पोखरेलको नेतृत्वमा छानबिन टोली बनेको थियो । तर उक्त समितिले तयार पारेको प्रतिवदेन अहिलेसम्म सार्वजनिक नगरी निगमले ट्यांकर सञ्चालकलाई संरक्षण गरेको स्रोतको दाबी छ ।
आयल निगमभित्रको इन्धन चोरी प्रकरण निगमका महाप्रबन्धकदेखि मन्त्रीसम्म ट्यांकर सञ्चालकको सञ्जालले काम गर्नेगरेका कारण इन्धन चोरीका घटना सामसुम पार्ने गरिएको आयल निगमकै कर्मचारी स्रोतले दाबी गरेको छ । जसले गर्दा तीन वर्षअघि भएको इन्धन चोरी प्रकरण अहिलेसम्म पनि सार्वजनिक नगरी त्यत्तिकै सामसुम पारिएको छ । अर्कोतिर ट्यांकर सञ्चालक सिंहका बाबुछोरालाई नै आयल निगमको केन्द्रीय कार्यालयबाट क्लिनचीट दिएर चोख्याउने प्रयास गरेको पनि आयल निगम कर्मचारीस्रोतले दाबी गरेको छ ।