काठमाडौं ।
सामाजिक सुरक्षा कोषले हालसम्म योगदानकर्तालाई दाबी भुक्तानीबापत झण्डै पाँच करोड भुक्तानी गरेको छ । विभिन्न चार योजनाअन्तर्गत एक हजार चार सय ३५ योगदानकर्तालाई चार करोड ७३ लाख रूपैयाँ दाबी भुक्तानी गरिएको कोषले जनाएको छ ।
कोषले सबैभन्दा धेरै औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनाको दाबी भुक्तानी गरेको छ । एक हजार दुई सय २६ लाभग्राहीलाई उक्त योजनाअन्तर्गत दुई करोड ५८ लाख ४६ हजार एक सय ५५ रूपैयाँ भुक्तानी भएको छ । दुर्घटना तथा अशक्तता सुरक्षा योजनाबाट ७० लाभग्राहीलाई १८ लाख ५० हजार छ सय २९ रूपैयाँ, आश्रित परिवार सुरक्षा योजनाबाट २२ लाभग्राहीलाई ३४ लाख २९ हजार ६४ रूपैयाँ र वृद्धावस्था सुरक्षा योजनाबाट एक सय १७ लाभग्राहीलाई एक करोड ६२ लाख ५५ हजार सात सय ८१ रूपैयाँ भुक्तानी दिइएको कोषले जनाएको छ । यही चैत ११ गतेसम्म कोषमा चार अर्ब ८० करोड रूपैयाँ योगदान संकलन भएको छ । कोषमा मासिकरूपमा आधारभूत पारिश्रमिकको २० प्रतिशत रोजगारदाता र ११ प्रतिशत श्रमिकका तर्फबाट ३१ प्रतिशत जम्मा हुँदै आएको छ ।
यस्तै ३१ प्रतिशत रकममध्येबाट कोषले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाका लागि एक प्रतिशत, दुर्घटना तथा अशक्तता सुरक्षा योजनाका लागि एक दशमलव चार प्रतिशत, आश्रित परिवार सुरक्षा योजनाका लागि शून्य दशमलव २७ प्रतिशत र वृद्धावस्था सुरक्षा योजनाका लागि २८ दशमलव ३३ प्रतिशत छुट्याइनेछ । कोषले केही समयअघि कार्यविधि संशोधन गरेर वृद्धवस्था सुरक्षा योजनाअन्तर्गत जम्मा हुने योगदानकर्ताको आधाभूत परिश्रमिकको २८ दशमलव ३३ प्रतिशत रकमलाई निवृत्तभरण योजनामा २० प्रतिशत र अवकाश सुविधा योजनामा आठ दशमलव ३३ प्रतिशत रकम जम्मा हुने व्यवस्था गरेको छ ।
एक लाख ९४ हजार श्रमिक सूचीकृत : कोषमा हालसम्म एक लाख ९४ हजार श्रमिक सूचीकृत भएका छन् । सबैभन्दा बढी वाग्मती प्रदेशबाट एक लाख ४५ हजार चार सय ५२, प्रदेश नं एकबाट २० हजार ५०, प्रदेश नं २ बाट १३ हजार सात सय ९५, गण्डकीबाट सात हजार एक सय ५४, लुम्बिनीबाट छ हजार आठ सय ३९, सुदूरपश्चिमबाट सात सय ७५ र कर्णालीबाट चार सय ७० योगदानकर्ता सूचीकृत भएका छन् । कोषमा आबद्ध हुने रोजगारदाताको संख्या १३ हजार छ सय १६ पुगेको छ । यसअन्तर्गत वाग्मती प्रदेशका नौ हजार एक सय, प्रदेश नं एकका एक हजार आठ सय ६०, लुम्बिनीका एक हजार एक सय ८०, प्रदेश नं दुईका पाँच सय ५०, गण्डकीका छ सय १७, कर्णालीका एक सय ४३ र सुदूरपश्चिमका एक सय ६६ छन् ।