काठमाडौं ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले आगामी आर्थिक वर्षको बजेटको लागि सुझाव पेस गरेको छ । निफ्राका प्रतिनिधिहरूले अर्थमन्त्री विष्णु पौडेललाई भेटी आगामी आर्थिक वर्ष २०७८–७९ को नीति तथा कार्यक्रम एवं बजेटमा पूर्वाधार विकाससँग सम्बन्धित सुझावहरू समावेश गर्नका लागि सुझाव पेस गरेका हुन् ।
भौतिक पूर्वाधारको निर्माण तथा सञ्चालनमार्फत मुलुकको सामाजिक आवश्यकताहरू पूरा गर्न, आम जनमानसहरूको दैनिकी सहजीकरण गर्न र राष्ट्रको द्रुत आर्थिक वृद्धिलाई सहयोग पु-याउन पूर्वाधार विकासमा लगानीको पर्याप्त वृद्धि हुनुपर्ने पृष्ठभूमिमा सार्वजनिक पूर्वाधारका परियोजनाहरूमा व्यावसायिक समिश्रण आवश्यक रहेको मुख्य विषयसहित निफ्राले सुझाव पेस गरेको हो । उक्त कार्यक्रममा अर्थ मन्त्रालयको तर्फबाट राजस्व सचिव, मन्त्रालयका सहसचिवहरू एवं बैंकको तर्फबाट अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतको उपस्थिति रहेको थियो ।
मुलुकको आर्थिक समृद्धिका लागि पूर्वधार परियोजनाहरूलाई आवश्यक वित्तीय पहुँच पु-याउने मुख्य उद्देश्य लिई सार्वजनिक निजी साझेदारीको अवधारणामा स्थापित नेपाल इन्फ्रास्ट्रक्चर बैंकले पूर्वाधार विकासमा नोडल संस्थाको रूपमा रही कार्य गर्नसक्ने प्रतिबद्धता जाहेर गर्दै बैंकले लिएको कार्यदिशा एवं हालसम्म प्राप्त गरेका उपलब्धिहरूको संक्षिप्त विवरण समेत पेस गरेको छ ।