काठमाडौं ।
एनआईसी एसिया बैंकले प्रिपेड डलर कार्ड सार्वजनिक गरेको छ । नवीनतम सेवा तथा सुविधासहित गतिशील बैंकिङको अभ्यास गर्दै आएको बैंकले विभिन्न विदेशी अनलाइन माध्यमहरूबाट खरिद गरिने सामग्री तथा सेवाको लागत रकम स्वदेशबाटै भुक्तानी गर्न सकिने सुविधा भएको प्रिपेड डलर कार्ड सार्वजनिक गरेको जनाएको छ ।
नेपाल राष्ट्र बैंकद्वारा जारी ‘अनलाइनमार्फत विदेशबाट वस्तु तथा सेवा खरिदबापतको भुक्तानी गर्ने प्रयोजनको लागि परिवत्र्य विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्न सकिनेसम्बन्धी सूचना’ लाई मध्यनजर गर्दै यस बैंकले अमेरिकी डलरमा आधारित प्रिपेड कार्डको व्यवस्था गरेको हो । भिसा कार्डमा आधारित हुने यस कार्डमार्फत ग्राहक महानुभावहरूले वार्षिक अधिकतम पाँच सय अमेरिकी डलरबराबरको अनलाइन किनमेल गरी भारत र भुटानबाहेक विश्वका अन्य मुलुकमा भुक्तानी गर्न सक्नेछन् ।
कार्ड प्राप्त गर्नका लागि ग्राहकहरूको केवाईसी विवरण अद्यावधिक गरिएको खातासँगै प्यान कार्ड हुनुपर्नेछ । यस सुविधामार्फत ग्राहकहरूले स्वदेशमै रहेर पनि प्रतिष्ठित अन्तर्राष्ट्रिय ई–कमर्स प्लाटफर्ममार्फत किनमेल गर्न सहज हुने बैंकले विश्वास लिएको छ । उक्त कार्ड जारी गर्दा बैंकले कार्ड शुल्कबापत निश्चित रकम लिनेछ भने पहिलोपटक डलर लोड गर्दा निःशुल्क हुने व्यवस्था समेत गरेको छ । ग्राहक महानुभावहरूले एकै पटक वा पटक–पटक गरी एक वर्षमा अधिकतम पाँच सय अमेरिकी डलरबराबर सटही गरी कार्डमा लोड गर्नसक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ ।